जेन-जी आन्दोलनमा ६१ भीआईपीको भएको थियो हवाई उद्धार

काठमाडौँ : जेन-जी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गत भदौ २३ गतेको जेन-जी आन्दोलन र भोलिपल्ट उत्पन्न घटनाक्रमका बारेमा पत्रकार सम्मेलन गर्दै सेनाले यसबारे जानकारी गराएको हो ।
नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको सेनाले जनाएको छ ।
सेनाका युद्धकार्य निर्देशक अनुपजंग थापाले आफूहरुको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको बताए । ‘सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो,’ उनले भने ।
भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता र नितका परिवारका साथै मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको थियो ।
जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो ।