यी हुन् नेपालसहित टी–२० विश्वकप क्रिकेट खेल्ने २० टिम

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ खेल्ने २० टिम (राष्ट्र)को नाम टुंगो लागेसँगै सार्वजनिक गरिएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले सन् २०२६ फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ खेल्ने २० टिमको नाम सार्वजनिक गरेको हो ।
जसअनुसार भारत, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, क्यानडा, इटाली, नेदरल्यान्ड, नामिबिया, जिम्बावे, नेपाल, ओमान र यूएई हुन् ।
कुन राष्ट्रको सहभागिता कसरी ?
भारत र श्रीलंका आयोजक राष्ट्रको रुपमा आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६मा सहभागी हुँदा सन् २०२४ मा सम्पन्न क्रिकेट विश्वकपका उत्कृष्ट सात टोलीका रूपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले खेल्ने अवसर पाएका हुन् ।
आईसीसी टी–२० वरीयताको आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान विश्वकपमा खेल्न पाउँदा अमेरिकी छनोटअन्तर्गत क्यानडाले विश्वकपमा स्थान बनाएको हो ।
युरोपियन क्षेत्रीय छनोटबाट इटाली र नेदरल्यान्ड, अफ्रिकी क्षेत्रीय छनोटबाट नामिबिया र जिम्बावे र एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपको स्थान सुरक्षित गरेको हो ।