छनोट प्रतियोगिताको उपाधि जितेमा क्रिकेट खेलाडीले जनही १९ लाख ५० हजार पाउने

काठमाडौं । नेपालले ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताए ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । हिजो भएको म्याचमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।
घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ ।
नियमावलीको अनुसूची ४ अन्तरगतको व्यवस्था अनुसार यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।
छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउनेछन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
नेपालले अब अन्तिम खेल सामोआसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हार्यो र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हार्यो भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हार्यो र ओमानले जित्यो भने चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्नेछन् ।