विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

द एभरेष्ट पोष्ट
२९ असोज २०८२ १५:३८
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले विपिन जोशीको हत्याप्रति गहिरो शोक र समवेदना व्यक्त गरेकी छन् ।

सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा भएको हमास आक्रमणमा परी बेपत्ता भएका जोशी जीवित नरहेको भनि २७ असोजमा मात्रै इजरायलले नेपाली राजदूतावासलाई औपचारिक जानकारी दिएको थियो ।

अन्तरिम सरकार प्रमुख कार्कीले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन् । जोशी केवल एक विद्यार्थी मात्र नभई विदेशमा ज्ञानको खोजीमा लागेका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उनी बताउँछिन् ।

जोशीको साहस र त्यागको प्रशंसा गर्दै कार्कीले भनिन्, ‘उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँ सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।’

जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उनले बताइन् ।

कञ्चनपुरका जोशी दक्षिणी इजरायलकोे किबुत्ज अलुमिममा अध्ययनरत थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा उनी बेपत्ता भएका थिए ।

इजरायली डिफेन्स फोर्सकाअनुसार अपहरणमा परेको करिब महिना दिनपछि नै जोशीको हत्या भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस