गेटामा विश्वविद्यालय ऐन कार्यान्वयनको ढोका खुल्यो, ८८ दिनमा सभाको बैठक

धनगढी । निकै रस्साकस्सी बिच तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ कार्यान्वयनमा गएको छ। दुवै सदनबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन साउन २ गते देखि लागू भएको थियो। उक्त ऐन लागू भएको ९० दिन भित्र सभा बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितिका बिच मंगलबार पहिलो बैठक बसेपछि ऐन कार्यान्वयनको ढोका खुलेको हो। ऐनमा सभाको बैठकबाट ९० दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिसक्नु पर्ने प्रावधान थियो।
मंगलबार ऐन लागु भएको ८८ औँ दिनमा बैठक बसेपछि अब विश्वविद्यालयका मुख्य कार्यकारी पद उपकुलपति, रजिस्ट्रार नियुक्तिको बाटो खुलेको छ। मंगलबार बसेको सभाको बैठकले उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। प्रा डा जयराज अवस्थी संयोजक रहेको समितिको सदस्यमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेका छन्।ऐन अनुसार अब सिफारिस समितिले ६० दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिको लागि सिफारिस गर्नुपर्ने प्रावधान छ भने सिफारिस समितिले सिफारिस गरेका व्यक्तिबाट सभाले ३० दिन भित्र नियुक्त गर्नुपर्ने प्रावधान पनि ऐन मै उल्लेख छ।
ऐन अनुसार नै काम अगाडि बढेमा पनि अब ढिलोमा ९० दिन भित्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति, रजिस्ट्रार पाउने छ। कार्यकारी पद उपकुलपति र रजिस्ट्रार नियुक्ति पछि मात्रै विश्वविद्यालयका अन्य कर्मचारी नियुक्त गरिने छन्।मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माहाविर पुनको अध्यक्षता बैठक सम्पन्न भएको थियो। बैठकले सभाका ७ जना सदस्य पनि नियुक्ति गरेको छ।
जसमा सभाको गठन सम्बन्धी परिच्छेद ४ को दफा ७ को उपदफा (२) को खण्ड (छ) बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट एक जना सदस्य मनोनीत गर्नुपर्ने प्रावधान अनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त चयन गरेको छ।
यस्तै परिच्छेद ४ कै दफा ७ को उपदफा (२) को खण्ड (ठ) बमोजिम विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र, मानवशास्त्रका विज्ञमध्येबाट ६ जना चयन गर्नुपर्ने प्रावधान अनुसार प्रा डा जयराज अवस्थी, प्रा डा अम्मराज जोशी, डा लवदेव अवस्थी, प्रा डा संगीता राज भण्डारी, डा डम्बरबहादुर पाल र सह प्रा अनुराधा रोकायलाई चयन गरेको छ। बैठकमा सभाका सदस्य रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सभाका सदस्य गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो।
विश्वविद्यालयको सभाको पहिलो बैठकबाट उपकुलपति र रजिस्ट्रार नियुक्ति प्रक्रिया अगाडि बढाएर सभाका ७ सदय चयन गरिए पनि अझै विश्वविद्यालयको स्वरूप दिनका लागि भने ऐन अनुसार प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पतालको संरचना बन्न बाकी नै छ। यद्यपि हाल विश्वविद्यालय भित्रै गेटा अस्पताल सञ्चालनमा रहेको भए पनि उक्त अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा घोषणा गरिएको छैन।