फरेन्सिक परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव

काठमाडौँ : फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।
इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।
‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’
इजरायली सेनाले ‘हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको’ दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन् ।