कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ

धनगढी । कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज २६ गते राति करिब ११:४५ बजे गोदावरी नगरपालिका–४ मा रहेको गगन बडैला सञ्चालित शुभम होटेलमा भएको घटनामा उनीहरू संलग्न रहेको पाइएको हो।
प्रहरीका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बस्ने ३२ वर्षीय गौरव ऐरमाथि केही अपरिचित व्यक्तिहरूले धारिलो हतियारले प्रहार गरी घाइते बनाएका थिए। हतियारको प्रहारबाट ऐरको हातको औँला काटिएको र टाउको तथा घाटीमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ।
घटनामा संलग्न भएको आशंकामा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली खटिएको थियो । टोलीले असोज २८ गते बिहान करिब २ बजे नेपाल–भारत सिमानामा पर्ने धनगढी त्रिनगर भन्सार नजिकैबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनगढी -२ का सन्नी भन्ने २९ वर्षीय भिम नेपाली, १८ वर्षीय अनुपम सिंह, १८ वर्षीय मुस्कान सिंह, २० वर्षीय बबिन सिंह, २६ वर्षीय गोपाल भट्ट, १८ वर्षीय प्रिन्स सिंह, धनगढी-३ का १८ वर्षीय बिशाल बोहरा, कञ्चनपुरको कृष्णपुर – ९ का २३ वर्षीय किरण महरा, २६ वर्षीय गोबिन्द बलायर, कञ्चनपुरको पुर्नवास –१० का ३२ वर्षीय दिनेश बिक र ३२ वर्षीय अनिल बिक रहेका छन् ।