प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १० थान रिट पेस

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट पेस गर्ने क्रम जारी छ । कानुन व्यवसायीहरूले हालसम्म १० वटा रिट दर्ताका लागि पेस भएको बताएका छन् ।
आज बिहानदेखि अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँ लगायतले ती रिट सर्वोच्चमा पुर्याएका हुन् ।
रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ ।
असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।
सर्वोच्च अदालतले आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्न सुरु गरेसँगै प्रतिनिधि सभा विघटनविरुद्ध रिट पुगेको हो । भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी खण्डहर भएको छ ।