चाडपर्व भत्ता नपाएपछि सेती प्रादेशिक अस्पतालका करार कर्मचारी आन्दोलित

द एभरेष्ट पोष्ट
२८ असोज २०८२ १३:१८
चाडपर्व भत्ता नपाएपछि सेती प्रादेशिक अस्पतालका करार कर्मचारी आन्दोलित

 धनगढी । चाडपर्व, पोशाक र महँगी भत्ता नपाएपछि धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । करारमा कार्यरत १५० भन्दा बढी कर्मचारीले विगत वर्षहरूमा जस्तै यस वर्ष भत्ता नपाएको भन्दै हिजो सामाजिक विकास मन्त्रालयको मूल गेटमा प्रदर्शन गरेका हुन ।

कर्मचारीहरूले असोज ६ गतेदेखि नै भत्ता भुक्तानीका लागि माग गर्दै आएका थिए । तर, अस्पताल र मन्त्रालय बिचको जिम्मेवारी स्पष्ट नभएकाले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।  सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले करार सेवाका कर्मचारीलाई भत्ता दिन समस्या उत्पन्न भएको स्पष्ट पार्दै भने, ‘मन्त्रालयले १२ महिनाको तलब बाहेक छुट्टै भत्ता रकम उपलब्ध गराएन । महालेखा परीक्षकको प्रतिवेदनमा पनि करार सम्झौतामा भत्ता उल्लेख नभएकाले अस्पतालको कोषबाट वितरण गर्न नपाइने भनेको छ ।’

उनका अनुसार, अस्पताल प्रशासनमा कर्मचारीहरूको मागप्रति नीतिगत प्रष्टता नहुँदा भत्ता वितरणमा समस्या शिजृना भएको हो । सोमबार दिउसो भत्ता भुक्तानीको माग गर्दै कर्मचारीहरूले मन्त्रालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । यता अस्पताल प्रशासनले पनि मन्त्रालयले करार सेवाका कर्मचारीलाई नियुक्त गरेकाले भत्ता सम्बन्धी समस्या पनि मन्त्रालय नै सुल्झाउनु पर्ने बताएको छ ।

आन्दोलनरत कर्मचारीहरूले अस्पतालको सेवा भने अवरुद्ध गरेका छैनन् । ड्युटी बाहेकको समयमा आफूहरू प्रदर्शन गर्न गएको कर्मचारीहरूले बताएका छन् ।यद्यपि माग सम्बोधन नभए आगामी दिनमा सेवा नै ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् । मेडिकल सुपरिन्टेन्डेन्ट डा, पाण्डेले  पनि करार कर्मचारीहरूले माग सम्बोधन गराउन सेवा अवरुद्ध नगरेको बताए । ‘सेवा अवरुद्ध गर्ने भए प्रशासनलाई जानकारी गराउन भनेका छौ । तर उहाँहरू आफ्नो ड्युटी पुरा गरिरहनु भएको छ ।’ उनले कर्मचारीका माग पुरा हुनु पर्ने बताए ।

अस्पताल प्रशासनले यही विषयमा एक महिना अघि मन्त्रालयलाई पत्र पठाएको थियो । तर समस्या समाधान भएन । अर्को पत्र हिजो पनि पठाएको अस्पतालले जनाएको छ । यता सामाजिक विकास मन्त्रालयले पनि कर्मचारी मागप्रति मन्त्रालय सकारात्मक रहेको जनाएको छ ।

मन्त्रालय सूचना अधिकारी जयदेव महराले करार कर्मचारी माग छिटै पुरा हुने बताए । ‘कार्यविधि बनिसकेको छ । त्यो अनुसार अर्थ मन्त्रालयबाट बजेट माग गरेर कर्मचारीका माग पुरा गर्छौ । मन्त्री ज्यु बाहिर हुनुहुन्छ । केही दिन लाग्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस