शोकमा रहेको परिवार विपिनको डिएनए रिपोर्टको पखाईमा

द एभरेष्ट पोष्ट
२८ असोज २०८२ ११:१०
शोकमा रहेको परिवार विपिनको डिएनए रिपोर्टको पखाईमा

धनगढी, २८ असोज । युद्धबिरामको घोषणासंगै ईजरायल र हमासबीच जारी दुई वर्ष लामो युद्ध तत्काललाई स्थगन भएको छ । र, युद्ध विरामसंगै हमासको कब्जामा रहेकाहरु रिहा भईरहदा ईजरायलमा खुशीयाली छाएको छ । र, ईजरायलमा रहेको १७०० भन्दा बढि प्यालेष्ट्राईनी कैदीबन्दीलाई ईजरायल सरकारले मुक्त गर्न थालेको छ ।

युद्धविराम र त्यसलाई पूर्णता दिन ईजरायल र हमासद्धारा थालिएका कब्जामा रहेका र थुनामा रहेका कैदीबन्दीहरुको आदान प्रदानले मध्यपूर्वमा आशाको सञ्चार भईरहदा हमासको कब्जामा रहेका विपिन जोशी जीवित नरहेको खवरले नेपाल भने शोकमा डुबेको छ ।

विपिन जोशीको रिहाईका लागि हमासलाई दवाव दिन अमेरिकामा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आएकी आमा पद्मा र बहिनी यतिबेला अमेरिकाको नर्थ क्यारोलिनामा आफन्तको घरमा छन् । यो खवर सुनेर उनीहरु स्तब्ध छन् । बुवा महानन्द जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ विचपुरी मल्लिकार्जुनटोलस्थित घरमा एक्लै छन् ।

विपिन जीवित नरहेको खवर डढेलो झै फैलिदा महानन्द भने आफन्तको घरमा थिए । यो खवरपछि विपिनका घरमा आफन्तहरु भेट्न आउने क्रम बढेको छ । विचपुरी मल्लिकार्जुनटोल शोकमा डुबेको छ । हमासले विपिन जीवित नरहेको कुरा ईजरायली सेनालाई बताएपनि ईजरायली सरकारले भने विपिनको भनिएको शवको डिएनए परीक्षणको रिपोर्ट कुर्न परिवारजनलाई आग्रह गरेको छु ।

डिएनए रिपोर्ट बाहिर आएपछि मात्र विपिन जीवित रहे नरहेको पुष्टि हुने ईजरायली अधिकारीहरुले परिवारलाई बताएका छन् । विपिन जीवित नरहेको पुष्टि भएपछि शव बुझ्न परिवारजनलाई ईजरायल सरकारले बोलाउने जनाएको छ । ईजरायल कसरी पुगेका थिए विपिन ? सुदूर पश्चिम विश्वविद्यालयको कृषि बिज्ञान संकायको स्नातक तहमा अध्ययनरत विपिन ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा १७ जना सहपाठीसंगै २०२३ मा ईजरायल पुगेका थिए ।

७ अक्टोबर २०२३ मा गाजापट्टीबाट इजरायल प्रवेश गरेका हमासको अन्धाधुन्ध आक्रमणमा परी १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले कब्जामा लिएको थियो । हमासको आक्रमणबाट डोटीको आदर्श गाँउपालिका–८ लामिखालका पदम थापा र शिखरनगरपालिकाको पचनाली–३ का राजन फुलारा र सल्यानको शारदा–३ का प्रवेश भण्डारी बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनियाँ–३ का आशीष चौधरीको मृत्यु भएको थियो ।

शव नेपाल ल्याइएर आफन्तलाई बुझाइसकिएको छ। असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणबाट सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाईते भए । सकुलस रहेका सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सहित घाईतेहरुलाई उपचारपछि ईजरायल सरकारले नेपाल फिर्ता ग¥यो भने मृतकहरुको शव परिवारजनलाई बुझायो ।

हमासले कब्जामा लिएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने खुल्न सकेन् । हमास र ईजरायलबीच युद्ध विरामपछि दुबै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदी बन्दी र कब्जामा व्यक्तिहरुलाई रिहा गर्ने क्रम शुरु भएपछि विपिन पनि रिहा हुने आशा गरिएको थियो ।

अन्तिम समयमा हमासले विपिन जोशी जीवित नरहेको बताएपछि परिवारजन गहिरोमा पीडामा परेका छन् । यो खवरले संसारभरी रहेका नेपालीहरु निराश भएका छन् । महानन्द र पद्माका दुई सन्तान थिए । जेठा छोरा विपिन र कान्छी छोरी पुष्पा ।

परिवारको जेठो सन्तान गुमाएपछि बुवा महानन्द र आमा पद्मासंगै बहिनी पुष्पा गहिरो शोकमा छिन् । डिएनए रिपोर्ट कुरीररहेका परिवारजनमा भने विपिन जीवित भेटिने आशा अझै जीवित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस