हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

द एभरेष्ट पोष्ट
२७ असोज २०८२ १४:४३
हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

काठमाडौं । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा आज एउटा उज्यालो किरण देखा परेको छ । गाजामा बन्दी बनाइएका २० जना इजरायली नागरिकहरू हमासको कब्जाबाट मुक्त भएका छन् ।

यो घटना इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा आएको हो, जसअन्तर्गत इजरायलले करिब २,००० फलस्तीनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।

आज पहिलाे चरणमा सात जना र दाेस्राे चरणमा १३ जना मुक्त भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई रेडक्रसमार्फत परिवारकाे जिम्ममा लगाइएकाे छ ।

मुक्त भएका बन्दीहरूमा दुईजना युवा सैनिकहरू (२२ वर्षीय मातन एंग्रेस्ट र २० वर्षीय निम्रोड कोहेन) सामेल छन्, जसलाई २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरण गरिएको थियो । बाँकी पाँच जनामा भाइबहिनी जोडी गाली र जिभ बर्मन (२८ वर्षीय), गुय गिल्बोआ दालाल (२६ वर्षीय), एइतान मोर (२५ वर्षीय) र अन्य युवाहरू छन् । यीमध्ये धेरैजसो नोभा संगीत महोत्सवमा सहभागी थिए, जहाँ हमासको आक्रमणमा सयौं मानिसहरू मारिएका थिए ।
इजरायली सरकारले सोमबार बिहान जारी गरेका तस्बिरहरूमा मुक्त बन्दीहरू खुशीसाथ परिवारजनसँग पुनर्मिलन हुँदै गरेको देख्न सकिन्छ । बन्दी हस्ताक्षरणको प्रत्यक्ष प्रशारण समेत गरिएको थियो, जुन हेर्न इजरायलभर लाखौं नागरिकहरु भेला भए ।

इजरायली सेनाका अधिकारीहरूले उनीहरूलाई प्रारम्भिक स्वास्थ्य जाँचपछि अस्पतालमा लगिएको बताएका छन् ।

‘यो दिन आनन्द, राहत र खुशीको दिन हो,’ इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुका प्रवक्ताले भनेका छन् ।

यो सम्झौता इजरायलको सैन्य अभियान र हमासको प्रतिरोधबीचको लामो वार्तापछि भएको हो । अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा १,२०० भन्दा बढी इजरायलीहरू मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो । यसको जवाफमा इजरायलको कारबाहीमा गाजामा ६७,००० भन्दा बढी फलस्तीनीहरू मारिएका छन् ।

सम्झौताअन्तर्गत कुल २० जना जीवित बन्दीहरू र २८ जनाको शव फिर्ता हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवसरमा इजरायलको संसद् केनेसेतमा सम्बोधन गर्ने कार्यक्रम छ, जसलाई ‘गाजा युद्ध समाप्तिको संकेत’ भनिएको छ ।

फलस्तीनी पक्षबाट पनि खुशीको लहर छ । गाजाको नासिर अस्पतालमा १,७०० फलस्तीनी कैदीहरूको स्वागातको तयारी भइरहेको छ, जसमध्ये धेरैलाई अक्टोबर ७ पछि बिनामुद्दा थुनामा राखिएको थियो ।

यद्यपि, यो युद्धविरामले स्थायी शान्ति कायम गर्छ कि गर्दैन भन्ने प्रश्न अझै कायमै छ । मध्यस्थकर्ताहरूले मंगलबार इजिप्टको शर्म एल-शेखमा शान्ति सम्मेलन आयोजना गर्दैछन्, जसमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन् । इजरायली तथा फलस्तीनी परिवारहरूले यो घटनालाई ‘नयाँ सुरुवात’ को रूपमा हेरेका छन्, तर बाँकी बन्दीहरूको रिहाइ र द्वन्द्वको अन्त्यका लागि थप प्रयास आवश्यक रहेको बताएका छन् ।

नेपालका युवा विपीन जोशीको अवस्था भने अहिलेसम्म पनि स्पष्ट छैन । उनको न सास भेटिएको छ न लास । इजरायलको सेनाले उनी जीवित नरहेको संकेत गरेको छ । हमासले छोड्ने २० जनाको सूचीमा विपीनको नाम छैन । मृतकको सूचीमा पनि अहिलेसम्म उनको नाम आएको छैन । परिवारजन भने अझै पनि फर्किने आशामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस