९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

भन्छन्, ‘सगरमाथा हाम्रो पहिचान’

२७ असोज २०८२ ९:३६
९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्। तर, प्रायः अन्तर्राष्ट्रिय आरोहीहरूले ख्याति पाउँछन् भने ती शेर्पा पथप्रदर्शकहरू, जो उनीहरूलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउँछन्, उनीहरु भने प्रायः गुमनाम हुन्छन् ।

उच्च जोखिमपूर्ण पेशा भएकाले फोर्चेका लगभग हरेक परिवारले कुनै न कुनै सदस्य गुमाइसकेका छन्। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ३०० भन्दा बढी आरोहीमध्ये करिब एक तिहाइ नेपाली मार्गदर्शक वा भरियाहरू हुन्। सन् २०१४ मा आइसफल दुर्घटनामा १६ जना गाइडले ज्यान गुमाए भने २०१५ को भूकम्पले बेसक्याम्पमा २२ जनाको जीवन लियो। यी दुबै घटनामा मृत्यु हुने अधिकांश फोर्चेका शेर्पा थिए।

तीमध्ये एक थिए दिवंगत निमा छिरिङ शेर्पा, जसले सन् १९५३ मा सर जॉन हन्टको नेतृत्वमा भएको ऐतिहासिक अभियानमा भरिया र मार्गदर्शकको भूमिका निर्वाह गरेका थिए। सोही अभियानमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएका थिए। निमा छिरिङका जेठा छोरा पासाङ ग्याल्जेन पनि सो अभियानका सदस्य थिए।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित फोर्चे गाउँ सगरमाथा आधार शिविर जाने बाटोमै पर्दछ। आरोहीहरूका लागि बास, साहस र मार्गदर्शन दिने यही गाउँमा जन्मिएका थिए निमा छिरिङ।

उनका आठ छोरा र एक छोरी थिए, जसमध्ये अधिकांशले सगरमाथा आरोहण गरेका छन्। निमा छिरिङका नाति पुस्ता समेत अहिले सगरमाथा आरोहणमा सक्रिय छन्। उनका परिवारका सदस्यहरूले हालसम्म ९३ पटक सगरमाथा आरोहण गरेका छन्— सम्भवतः यो एकै परिवारले कायम गरेको पहिलो र अद्वितीय कीर्तिमान हो।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेलाई इतिहास रच्न सहयोग गर्ने निमा छिरिङ र उनका छोरा पासाङ ग्याल्जेन जीवनभर आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। जीवनको उत्तरार्धमा उनी हिमाल आरोहणबाट विश्राम लिएर फोर्चेमा आफैंले बनाएको गुम्बामा बस्दै आएका थिए। सन् २०१५ मा क्यान्सरका कारण उनको निधन भयो।

निमा छिरिङले सगरमाथाको शिखरमा पाइला टेक्न नपाए पनि उनका सन्तानहरूले उनको अधुरो सपना मात्र पूरा गरेनन्,  कीर्तिमान पनि कायम गरे।

उनका माहिला छोरा ङवाङले ११ पटक सगरमाथा आरोहण गरे। साहिला छोरा आङछिरिङ शेर्पा मृत्युअघिसम्म सगरमाथा आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। १४ पटक सगरमाथा आरोहण गरेका अर्का छोरा मिङमा दोर्जे यतिबेला १५ औं पटक आरोहणका लागि सगरमाथामा छन् ।

मिङमापछि जन्मिएका ङती शेर्पाले ७ पटक सगरमाथा आरोहण गरे र तिब्बती मोहडाबाट सगरमाथा चढेर नेपाली मोहडाबाट तल झर्ने पहिलो आरोही बने। सन् १९९३ मा अन्नपूर्ण आरोहणका क्रममा हिमपहिरोमा परी उनको निधन भयो।

मिङमापछि जन्मिएका पानरु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन्। उनको नेतृत्वमा सन् २००४ मा खुम्बु आरोहण केन्द्र स्थापना भएको थियो। अहिले पनि उनी नयाँ पुस्तालाई प्रशिक्षण दिँदै हिमाल आरोहणमा प्रेरित गरिरहेका छन्।

दाजुहरूलाई पछ्याउँदै मिङमा छिरिङले पनि १६ पटक सगरमाथा आरोहण गरे र अहिले अमेरिकाको कोलोराडोको क्रिस्टेड व्यूटमा बस्दै आएका छन्।

एक्ली छोरी मिङ्मा याङ्जीले चोयो, आमादाब्लमलगायतका हिमालहरू आरोहण गरेकी छिन्। उनका पति लाक्पा छिरी शेर्पाले ११ पटक सगरमाथा आरोहण गरेका छन्। यदि ज्वाईको योगदान पनि जोडिने हो भने यो परिवारका सदस्यहरूले जम्मा ९३ पटक सगरमाथा आरोहण गरेका छन्।

सबैभन्दा कान्छा छोरा दानरुले पनि १६ पटक सगरमाथा आरोहण गरिसकेका छन्। अहिले उनी अमेरिकाको कोलोराडोस्थित गोल्डेनमा छन् र आगामी वर्ष पुनः सगरमाथा आरोहणको तयारीमा छन्।

तेस्रो पुस्ताका लाक्पा ग्याल्जेन (पानरुका छोरा) ले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्। तिब्बत र नेपाल दुबै मोहडाबाट सफल आरोहण गरिसकेका उनले आफ्नो जीवनको लक्ष्य सगरमाथामाथिका सबै रेकर्ड तोड्नु रहेको बताएका छन्।

‘फोर्चेमा जन्मिएका हामी सगरमाथा हेर्दै हुर्कियौं,’ पानरु भन्छन्, ‘त्यसैमा हाम्रो जीवन बित्यो। हाम्रो परिवारका लागि सगरमाथा नै सबैथोक हो—लाग्छ, हामी सगरमाथा चढ्नकै लागि जन्मिएका हौं।’

दानरुका अनुसार फोर्चे गाउँमा ९५ घरधुरी छन्, जहाँ करिब ३५० जनसंख्या छ। तीमध्ये ७५ भन्दा बढी परिवारका सदस्यले कम्तीमा एकपटक सगरमाथा आरोहण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस