विपश्यनाबाट ब्यूँझिदा बदलिएको देश

द एभरेष्ट पोष्ट
२५ असोज २०८२ ५:४५
विपश्यनाबाट ब्यूँझिदा बदलिएको देश

नीलम शर्मा

लामो समयदेखि विपश्यना जाने सोचमा थिएँ, तर विभिन्न कारणले सकेकी थिइनँ। जब मनको गहिराइबाट एकपटक विपश्यना जानैपर्छ भन्ने लाग्यो, सेप्टेम्बर १ देखि १२ गतेसम्मका लागि आफ्नो सिट सुरक्षित गरें। सुन्दर प्रकृतिको काखमा रहेको बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा प्रवेश गर्दा देशमा परिवर्तन वा विद्रोहका कुनै संकेत थिएन। भित्रभित्रै अशान्ति भए पनि बाहिरबाट कुनै आँधीहुरी आइहाल्ने लक्षण देखिँदैनथ्यो। त्यसैले विपश्यना जानु अघि मनमा कुनै दुविधा पनि थिएन।

१० दिनको ध्यान कोर्समा बाहिरी सम्पर्कबाट पूर्णतया विच्छेद भई (कुनै पनि विद्युतीय सामग्री साथमा लैजान पाइँदैन) आर्यमौनको पालना गर्नुपर्थ्यो। दैनिक १२ घण्टा ध्यानमग्न रहनुपर्ने पूर्वजानकारी थियो। त्यसैले त्यो समयका लागि मानसिक रूपमा त्यसरी नै आफूलाई तयार पारेकी थिएँ। आश्रम प्रवेश गरेको साँझबाट कोर्स सुरु भयो।

लामो समयदेखि सामाजिक न्यायको क्षेत्रमा काम गरेकी मलाई आश्रमका नियमहरू साँच्चै न्यायपूर्ण लागे, किनकि आश्रमको गेटभित्र प्रवेश गरेपछि हरेक सहभागीको विपश्यना साधक बाहेक अन्य सबै पहिचान गौण हुने रहेछ। यहाँका नियमहरू सबै लिंग, जात, धर्म, वर्ण, वर्ग, राष्ट्रियता र उमेरका लागि समान रूपमा लागु हुने रहेछन्। समयपालनामा थोरै पनि तलमाथि गर्ने छुट कसैलाई थिएन, न प्राप्त हुने सेवाहरूमा फरक थियो।

आश्रममा रहँदा सबै साधकले पञ्चशीलको पालना गर्नुपर्ने थियो — झुटो नबोल्ने, चोरी नगर्ने, प्राणी हत्या नगर्ने, मद्यपान नगर्ने र व्यभिचार नगर्ने। त्यही समयदेखि आर्यमौन (कसैले पनि एकअर्कासँग बोलेर, आँखाले वा इशाराले पनि संवाद नगर्ने) सुरु भयो।

हरेक दिन बिहान ४ः३० बजे सुरु हुने ध्यान राति ९ बजे सम्म चल्थ्यो। बेलुका झण्डै दुई घण्टा एस.एन. गोयन्काद्वारा दिइएका प्रवचनका भिडियोहरूमा विपश्यना के हो, कसरी गर्ने, किन गर्ने, गरेर के हुन्छ, धर्म भनेको के हो, धार्मिक हुनुको अर्थ के हो — यस्ता विषयमा केन्द्रित हुन्थे।

प्रवचनले विपश्यनाका व्यवहारिक विधिहरूलाई सैद्धान्तिक रूपमा बुझ्न र तुलनात्मक अध्ययन गर्न धेरै मद्दत पुर्‍याइरहेको थियो। विपश्यना भनेको के हो भन्ने धेरै अध्ययन नगरी कोर्समा सहभागी भएकी म जस्ता व्यक्तिलाई अभ्यास र प्रवचनबाट बुझ्न सहज भयो।

विपश्यना प्राचीनकाल (हजारौँ वर्षअघि) को एक ध्यान विधि रहेछ। लोप भइसकेको यस विधिलाई २५ सय वर्षअघि सिद्धार्थ गौतमले पुनः पत्ता लगाई यही विधिको अभ्यासद्वारा बुद्धत्व प्राप्त गरेका रहेछन्। यही बुद्धत्वमा आधारित ज्ञानलाई फैलाउने क्रममा उनी भगवान बुद्ध कहलाए।

शाब्दिक रूपमा ‘वि’ भनेको ‘विशेष’ र ‘पश्यना’ भनेको ‘हेर्नु’ हो — अर्थात् विशेष रूपमा हेर्नु। विपश्यना ध्यान विधिले आफ्नो शरीरभित्रका वेदनाहरू (संवेदनाहरू) लाई विशेष रूपमा हेर्ने सीप सिकाउँछ। यस जीवन–उपयोगी सीपले मानिसको मनलाई सही ढंगले बुझ्न र व्यवस्थापन गर्न सक्ने कला विकास गर्छ।

यो कला जीवनमा आइपर्ने हरेक सुखद र दुखद दुवै पक्षलाई तटस्थ रूपमा स्वीकार्दै शरीर र मनलाई सन्तुलित राख्नका लागि साँच्चिकै सहायक हुन्छ। यही सिद्धान्त नै सिद्धार्थ गौतमले प्राप्त गरेको बुद्धत्व विचार हो।

त्यसैले बौद्धमार्गी हुनु भनेको निश्चित साम्प्रदायिकताभित्र बाँधिएर गौतम बुद्धको मूर्तिको पूजा गर्नु होइन, बुद्धत्व वा ज्ञानको मार्गमा अघि बढ्नु हो।

गोयन्काजीका प्रवचन सरल र बुझ्ने भाषाशैलीमा हुने भएकाले झर्को लाग्दैनथ्यो। साथै प्रवचनमा कुनै धर्म विशेषको वकालत नगरी शरीरका संवेदनाहरूलाई सूक्ष्म रूपमा बुझ्न प्रेरित गर्ने भएकाले पनि यो सबैका लागि उपयोगी लाग्यो।

गोयन्काजीका सबै विचारहरूसँग सहमत नहुन पनि सकिन्छ। उदाहरणका लागि, पुनर्जन्मका कर्मका फलस्वरूप नै यस जन्ममा दुःख भोग्नुपर्छ, र यस जन्मका कर्महरूले पुनर्जन्म निर्धारण गर्छन् भन्ने बिषयसँग म सहमत थिइनँ। त्यस्तै, पटक–पटक आँखा नदेख्ने व्यक्तिलाई लक्षित उदाहरणहरू सुन्दा नमज्जा लाग्यो।

१० दिनसम्म निरन्तर ध्यानको अभ्यास गर्नु सजिलो थिएन। सुरुका केही दिनहरू पट्यारलाग्दा र निरस थिए। तर चौथो, पाँचौँ दिनदेखि साँच्चिकै मन शान्त हुँदै गयो र एकाग्रता बढ्दै गयो।

आँखा खोलेदेखि बाहिरी संसार हेर्ने, सुन्ने, त्यसैबाट धारणा बनाउने बानी परेका हामीलाई आफ्नो शरीर र मनको गहिराइमा प्रवेश गरी सुखद र दुखद दुवै संवेदनालाई तटस्थ भएर महसुस गर्नु र एउटै कुरामा १२ घण्टा ध्यान लगाउनु निकै कठिन अभ्यास हो। तर असम्भव रहेन। अभ्यास गर्दै गएपछि यसले दिने आनन्द शब्दमा बयान गर्न नसकिने हुन्छ।

गोयन्काजीले बारम्बार भन्नुहुन्थ्यो — “सत्य सधैं अनुभूतिमा आधारित हुन्छ, अनुभूति विहीन कुराहरू केवल बुद्धि–विलासका विषय हुन्।” यो भनाइ साँच्चै घतलाग्दो थियो।

मानिसभित्र हुने दुई गुण — राग (तृष्णा, लोभ, महत्वाकांक्षा, आशक्ति) र द्धेष (रीस, बैमनस्यता, ईर्ष्या, घमण्ड, कटुता, बदलाको भावना) — लाई पहिचान गरी तिनलाई निराकरण गर्न सकेमा आफ्नो र प्रकृतिको भलो हुन्छ। विपश्यनाले यही सीपको विकास गर्न सहयोग गर्छ भन्ने तथ्यलाई मैले पूर्ण रूपमा स्वीकार गरेँ।

१० दिन बितेको पत्तै भएन। शरीर र मन दुवै हलुका र शुद्ध महसुस भइरहे। दशौँ दिनको अपरान्हतिर आचार्यले केही सूचना छ भन्नुभयो। हामीले सोचेका थियौँ, भोलि घर जाने दिनको व्यवस्थासम्बन्धी सूचना होला।

महिला र पुरुष दुवैले ध्यान गर्ने ठूलो हलमा करिब दुई सय साधक उपस्थित थिए। तर आचार्यको सूचना फरक रह्यो —
“देशमा केही दिनअघि भएको जेन–जि आन्दोलनका कारण बाहिर कफ्र्यू लागेको छ, त्यसैले तपाईंहरू घर जाने समय र दिन अनिश्चित छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभएको छ।”

आचार्यको कुरा सुनेर १० दिनदेखि मौन साधनामा रहेका साधकहरूले अचानक ताली बजाए। सबै अचम्ममा परे। समाचार अकल्पनीय थियो। आश्रममा कोलाहल मच्चियो। कसैसँग पुष्ट समाचार थिएन।

आश्रमकै फोनबाट घरमा छोटो सम्पर्क गर्न दिइयो। साँझसम्ममा भोलिपल्ट बिहान दुई घण्टा कफ्र्यू खुल्ने भएकाले सबेरै घर जान सकिने जानकारी पाइयो। त्यो साँझदेखि बिहानसम्मको समय निकै कष्टकर बन्यो।

देशमा के भयो होला? साधकहरू स–साना समूहमा कुरा गरिरहेका थिए — “सबै नेताहरू सेनाको कब्जामा छन् रे, सिंहदरवार जलेको रे, देश ध्वस्त भएको रे, सैनिक शासन लागिसक्यो रे, धेरै मान्छे मरे रे।”

के साँच्चै उलटपुलट भयो त? कि राजाले शासन लिए? यति धेरै राग र द्धेषले भरिएका हठी र घमण्डी ओलीले राजीनामा दिनुपरेपछि पक्कै ठूलो उथलपुथल भयो होला भन्ने लाग्यो।

तर अन्तरमनले भने यी सबै भ्रामक सूचना हुनसक्छन् भन्ने पनि भनिरहेको थियो। निद्रा परेन। प्रवचनमा सुनेका कुरा मिथ्या लाग्न थाले।

तर रात सकिन्छ नै। बिहान भयो। आश्रमले त्यति धेरै मानिसलाई संवेदनशील अवस्थामा पनि सुरक्षित घरसम्म पुर्‍याउनु प्रशंसनीय काम थियो।

आश्रमबाट बाहिर निस्कँदा मात्र थाहा भयो — हामी ध्यानको संसारमा आनन्दित भइरहँदा देश त जलिरहेको रहेछ।
कलिला नानीहरू निधार र छातीमा गोली खाइरहेका रहेछन्। सिंहदरवार, सर्वोच्च अदालत, संसद भवनदेखि सरकारी घरहरू खरानी बनिसकेछन्। देश सरकारविहीन रहेछ।

देशभरका जेलबाट १४ हजार कैदी भागेका रहेछन्। नेताहरू सेनाको सुरक्षामा शिवपुरीमा रहेका रहेछन्।

यो सुन्दा १० दिनको ध्यानले दिएको आनन्द भन्दा धेरै गुणा बढी पीडा महसुस भयो। दिमाग शून्य भयो। प्राप्त सूचनाहरू बुझ्न र प्रतिक्रिया जनाउन कठिन भयो।

बाटोमा जलेर खरानी भएका भवनहरू देख्दा देशमा ठूलै उथलपुथल भएको स्पष्ट भयो।

एकछिन त आश्रमका नियमप्रति रीस पनि उठ्यो — “देशमा यतिबिधि हुँदा पनि बेखबर राख्ने कस्तो नियम ?”
तर फेरि सोचें — म बाहिर भएको भए के यो हुन दिँदिन्थें र? होइन। त्यसो भए आक्रोशको अर्थ के?

घर पुगेर परिवारलाई सकुशल भेट्दा दोस्रो जीवन पाएझैँ लाग्यो। तर त्यतिबेला मजस्ता कयौँ आमाहरूका काख रित्तिएका थिए, कयौँको संसार उजाडिएको थियो। सम्झिँदा आँसु झरिरह्यो।

के कसरी भयो? कसैसँग जवाफ थिएन। सबै हतप्रभ र आतंकित थिए। ध्यानका १० दिनमा देशमा धेरै कुरा फेरिएको थियो।

हिजो सत्ता र शक्तिको अहंकारले ग्रस्त नेताहरू क्षणभरमै शक्तिविहीन बनेका थिए। हुने नहुने सबै भयो।

यो सबैको जिम्मेवार को? जेन–जि आन्दोलनको नाम थियो, तर यति ठूलो विध्वंस मच्चाउने को थियो? जवाफदेही कोही देखिएन।

देशमा बहुदल आयो, दश वर्ष जनयुद्ध भयो, गणतन्त्र आयो, व्यवस्था फेरियो। तर आम जनजीवनमा दिगो परिवर्तन आएन। हुने खाने र हुँदा खानेबीचको खाडल अझ बढ्यो।

पहुंच हुने र बहिष्करणमा पर्नेबीचको दूरी अझै बढ्दै गयो। नियम, सुशासन, समानता, समता, कानुनी राज्य, न्यायमा पहुँच — यी सबै किताबका सुन्दर अक्षरहरूमा मात्र सीमित रहे।

जनताको सपना एकपछि अर्को गर्दै तुषारापात भइरहे। दण्डहीनताको पराकाष्ठा हुन थाल्यो। त्यसैले यो विद्रोह एकदिन हुने निश्चित थियो, तर कहिले र कसरी भन्ने अनुमान कसैले गर्न सकेको थिएन।

अन्त्यमा प्रकृतिको नियम अनुसार — स्थायी केही पनि हुँदैन, न शक्ति, न सत्ता, न घमण्ड, न हठ। हरेक तानाशाहको अन्त्य निश्चित हुन्छ, त्यो भयो पनि।

विपश्यनाबाट फर्किएपछि घाइते मन सम्हाल्नुको विकल्प थिएन। यी सबै घटनाक्रमले विपश्यनाको महत्व, आवश्यकता र प्रयोगलाई अझ अर्थपूर्ण बनायो।

मनले गहिरोसँग केही बुझ्न थाल्यो — आँखा चिम्लिएर बस्नु ध्यान होइन।
साँचो साधक हुनु भनेको आफ्नो मनलाई स्वच्छ र स्वस्थ राख्नु हो —
राग, द्धेष, आशक्ति, घमण्ड, लोभ, ईर्ष्या, हिंसा, घृणा र बदलाको भावनाबाट मुक्त हुन सक्नु हो।

केही सीमित व्यक्तिहरुको सत्ता–लालसा, महत्वाकांक्षा, शक्ति–आशक्ति र दम्भले देशलाई यो अवस्थामा पुर्‍यायो।

यस्तो बेलामा विपश्यनाले दिने सन्देशभन्दा महत्वपूर्ण अर्को के हुन सक्छ?
विश्व इतिहास र वर्तमान दुवैले देखाउँछन् —
हरेक हिंसा र अशान्तिको मूल कारण राग र द्धेष नै हुन्।

राग र द्धेषले व्याप्त व्यक्ति वा समाज न त शान्त हुन सक्छ, न समृद्ध।

नेतृत्वको पुस्तान्तरण र हस्तान्तरणका अभ्यासहरू हुँदै गर्दा हामीले आउने पुस्तालाई यस्ता जीवन–उपयोगी सीप र गुणहरू हस्तान्तरण गर्न सकौँ भन्ने कामना गर्दछु।

विपश्यनाको लाभ हरेक व्यक्ति र समाजले लिन सकोस्। सबैको मंगल होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस