बालेनको समर्थन रास्वपालाई, रविको ठाउँमा कुलमान राख्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए ।
उनका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भएको छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न (रास्वपा र घण्टी) पुरानै रहने सहमति जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ ।
उक्त स्रोतका अनुसार घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया रोकेका छन् । उनले अब रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेसँगै हाल रहेको मन्त्री पदबाट राजीनामा दिने तयारी छ ।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि नख्खु जेलबाट निकालिएका लामिछानेकै कारण रास्वपाभित्र तीव्र मतभेद थियो । आन्दोलनपछि उत्पन्न विशेष परिस्थितिमा बालेनले नयाँ राजनीतिक दल खोलेर जेन–जी आन्दोलनको आधिकारिकता ग्रहण गर्न चाैतर्फी दबाबसमेत बढेको थियो ।
यहीबीचमा बालेनले समेत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो । तर, बालेनले परम्परागत राजनीतिक शक्तिहरूसँग जुध्न वैकल्पिक शक्तिहरूको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नुभन्दा रास्वपालाई समथर्न गरेर अघि बढ्ने रणनीतिमा देखिएका छन् ।
‘बालेनलाई कुनै पद चाहिएको छैन । न उहाँ कुनै पदाधिकारीमा बस्नुहुन्छ न प्रधानमन्त्री र अध्यक्ष/सभापति नै बन्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँको चाहना नै जनअपेक्षा अनुरुप वैकल्पिक शक्ति एकजुट भएर असल शासन स्थापना होस् र मुलुकको विकास होस् भन्ने नै रहेको देखिन्छ ।’
यसबारे रास्वपाले एक केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएको थियो । आन्दोलनपछि उत्पन्न परिस्थिति, नख्खु प्रकरण र दलभित्रकै केही नेताहरूको समेत असन्तुष्टिले रास्वपालाई क्षति भइरहेको अवस्थामा थप क्षति हुन नदिन परिस्थिति अनुकूल निर्णय गरेर जान नेताहरू सहमत भएका थिए । रवि र बालेनसँग नजिक रहेर यो भूमिका खेलिरहेका एक नेताले रविलाई समेत भेटेर उनको समर्थन लिएपछि छलफलले अन्तिम रूप लिने तयारीमा रहेको स्रोतको भनाइ छ ।
ती नेताका अनुसार रविलाई कन्भिन्स गर्न केही समय लागेको थियो । तर, रविलाई कार्यकारी भूमिकामा तत्काल नराखे पनि रास्वपाको इतिहाससँग जोडिएको व्यक्ति रवि नै भएको हुँदा उनलाई संरक्षक, सल्लाहकार वा के राख्न उपयुक्त हुन्छ सो बारेमा समेत छलफल भइरहेको स्रोतको भनाइ छ ।