काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले अन्तरिम सरकारलाई ओलीलाई पक्राउ गर्न चुनौती दिए । ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ’ उनले चेतावनी दिँदै भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र म, महेश बस्नेत, छाती फर्काएर कहिल्यै हिँड्दैनौं । हिजो राणा, पञ्च र शाही शासनविरुद्ध माओवादीलाई युथफोर्स बनाएर लडेको यही टोली हो।’
बस्नेतले विदेशीको आडमा जेनजी आन्दोलनका क्रममा १९ जना कलिलबा भाइबहिनीको हत्या भएको र त्यसको मुख्य दोषी बालेन र सुधन गुरुङ रहेको आरोप लगाए । ‘विदेशीको खेताला भएर स्नाइपर ल्याएर कलिला भाइबहिनीको हत्या गरिएको छ त्यसको मुख्य पात्र विदेशी दलाल बालेन हो, सुधन गुरुङ हो छानबिन त्यहाँबाट सुरु हुनुपर्छ,’ बस्नेतले भने।
बस्नेतले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा एमाले सहयोग गर्न तयार रहेको पनि बताए । उनले भने, ‘हामी पूर्ण सहयोग गर्न तयार छौं, हाम्रा विषयमा पनि छानबिन गर्नुस् । तर छानबिन नेपालको पहिलो नम्बर भ्रष्टाचारी कुलमान घिसिङबाट सुरु गर्नुस् ।’
त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्तिको स्रोतबारे प्रश्न उठाउँदै काठमाडौं महानगर प्रमुख बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि पनि अनुसन्धान गर्न माग गरे ।
बस्नेतले असोज २५ गते युवा संघ नेपालले देशव्यापी मोटरसाइकल र्यालीमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने चेतावनी पनि दिए ।