अख्तियार प्रमुख राईमाथि जेनजी समूहका ३ आरोप– वाइडबडी, नक्कली शरणार्थी र निगमको जग्गा घोटाला

द एभरेष्ट पोष्ट
२१ असोज २०८२ १२:३३
अख्तियार प्रमुख राईमाथि जेनजी समूहका ३ आरोप– वाइडबडी, नक्कली शरणार्थी र निगमको जग्गा घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै जेनजी समूहले ३ आरोप लगाएको छ । राईको राजीनामा माग गर्दै मंगलवार अख्तियारमा दबाब पत्र दर्ता गराएपछि जेनजी समूहले सार्वजनिक गरेको वक्तव्यमा राईमाथि नक्कली शरणार्थी प्रकरणसहित ३ आरोप लगाइएको हो ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको प्रत्यक्ष र परोक्ष संलग्नता रहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन गएका जेनजी अगुवा रिजन राना मगरले ३ प्रकरणमा राईको प्रत्यक्ष र नियामकीय संलग्नता रहेको आफूहरूको निष्कर्ष रहेको बताए । वाइडबडी विमान खरिदको प्रक्रिया शुरू गर्ने बेला राई पर्यटन मन्त्रालयको सचिव थिए । विशेष अदालतले वाइडबडी घोटालाको फैसला गर्दा राईमाथि ‘चयनात्मक अभियोजन’ गरेको भन्दै नैतिक प्रश्न उठाएको थियो । राईको निष्पक्षतामा पहिलैदेखि प्रश्न उठिरहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको बेला राई गृहसचिव थिए । महाभियोग लगाएर हटाउन संसद् नरहेकाले प्रमुख आयुक्त राईसहित आयुक्तहरूको राजीनामा अति आवश्यक रहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

दबाबपत्र दर्ता गराएपछि जेनजी नेतृ वनिकाले नैतिकताको आधारमा राईले राजीनामा दिने विश्वास गर्दै नदिए थप कार्यक्रम घोषणा गर्ने बताइन् । जेनजी समूहको वक्तव्यमा राजीनामा नगरे आवश्यकता अनुसार अन्य कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस