पूर्वी नेपालमा अविरल वर्षा, जनजीवन अस्तव्यस्त

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ १२:०६
पूर्वी नेपालमा अविरल वर्षा, जनजीवन अस्तव्यस्त

काठमाडौं । पूर्वी नेपालमा अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । मोरङका विराटनगर तथा अन्य क्षेत्रमा सयौं घर डुबानमा परेका छन् भने हजारौं स्थानीय बासिन्दा विस्थापित भएका छन्।

विराटनगर-१२, सम्पन्न वस्तीमा ७५ घरमा पानी पसेपछि ३५० जनालाई बखरी, दरैया आधारभूत विद्यालय र नयाँ फ्याक्ट्रीमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, विराटनगर-२, पूर्व सिंघिया खोलाको पानी बस्तीमा पस्दा ३०/३५ घरलाई स्थानान्तरण गर्नुपर्ने सम्भावना देखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । विराटनगर-५, केशलिया ढाट शङ्करबारी टोलमा केशलिया खोला बस्तीमा पसेका कारण २०/२५ घरका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यसैगरी, सुनबर्सी-६ मा बक्राहा खोलाको बाँध मर्मत कार्य जारी रहेको छ । उर्लाबारी-९, बोर्डरलाइनमा रतुवा खोलाको पानी १५/२० घरमा पसेपछि स्थानीय छिमेकीको घरमा स्थानान्तरण गरिएको छ ।

सुनबर्सी-३, बाहुनटोलमा बक्राहा खोलाको बाँध करिब ४/५ मिटर कटान भई ५०/६० घरमा पानी पसेको छ । मिक्लाजुङ-६, मलामिटहरा छेउमा नुनसरी खोलाको बाँध कटान भइरहेको छ र स्थानीय स्तरमा खोलालाई व्यवस्थित च्यानलिङ  गर्ने प्रयास भइरहेको प्रजिअ यादवले बताए ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस