दशैं, यस पटक तिमी नआउदा हुदैन ?

१५ असोज २०८२ १०:३९
दशैं, यस पटक तिमी नआउदा हुदैन ?

धुवाको मुस्लोले ढाकेको आकाश
अझै खुलेको छैन
गोलीले ढलेको छोरालाई
दागवत्ती दिएर ढलेकी आमा
अचेत छिन अझै
काजक्रिया सकियो
समवेदना दिनेहरु पातलिदै गए
रोकिएका छैनन्, अझै आँशुका बलिन्द्र धारा
आँशु पिएर कसरी लाउनु निधारमा टीका ?
दशैं, यस पटक तिमी नआउदा हुदैन ?

दागवत्ती दिएर फर्किएका बुवामा
अझै विश्वास जीवित छ अनौठौ
छोरा टुप्लुक्क आईपुग्नेछ, आगनमा
ओभाएका छैनन्, आमाका आँखा
दिदी र बहिनी कुरेर बसेकी छिन्
भाईको बाटो
यो अन्त्यहीन पीडा र पर्खाई
दशैं यस पटक तिमी नआउदा हुदैन ?

रगतले लतपतिएको बानेश्वर,
त्यो संसद भवन
आलै त्यो रगतको आहाल
अझै सलबलाईरहेका हत्याराहरु
अपहरणमा परेको आन्दोलनको उपलब्धी
बलिदानी व्यर्थ जाने पीर
लुछाचुडी भईरहेको शहिदको सपना

गोलीले छियाछिया पारेको छाति
दुखाई सहन नसकेर
नर्ससंग
वीषको सुई घोप्दिन आग्रह गर्ने घाईतेहरु
दुखाईमा
मल्हम बनेर नआएको तिमीलाई
मैले के भनेर मनाउ ?
दशैं, तिमी यस पटक नआउ है

बर्दी फुकालेर भीडले
लखेट्दा लखेट्दै
बाग्मतीमा हाम फालेर जोगिएको प्रहरी
कुन खुशी लिएर घर गयो होला ?
जुन छातिमा बहादुरीका तक्मा छैनन्
छन त,
आफ्नै दाजुभाईका बुटले बनाएका घाउहरु
कुन खुशीमा मनाउनु उत्सव
जहाँ आफ्नै भाईहरु मारिए
दशैं जहाँ तिमी आउनुको खुशी छैन
यस पटक तिमी नआउदा हुदैन ?

कसले जित्यो ?
कसले हा¥यो ?
को जल्यो ?
को ढल्यो ?
कसले कसलाई लखेट्यो ?
हिसाव छैन
न्याय म¥यो
निसाफ छैन
निसाफ हराएको बेला
तिमी नआउदा हुदैन दशैं ?

अनिदा रातहरु
अन्त्यहीन पीडाहरु
निदाउन बिर्सिएका आँखाहरु
मृत्यु बोकेर हिडेको समय
प्राणविहीन सपनाहरु
यो कस्तो समय लिएर आयौ
तिमी आयौ भनेर हास्नु कि रुनु ?
तिमी यस पटक नआउ है दशैं ?

मीन बहादुरको सम्पत्ती ठानेर
हजारौको रोजगारी लुट्ने ती लुटेराहरु
खुलेआम हिडिरहेको समयमा
ती जागीर गुमाएका दिदी बहिनीहरुले
कसरी मनाउनु दशैं ?
लुट्न पल्केकाहरु
फेरि अर्को वर्ष दशैं अघि
आउदैनन भन्ने छ र ?
निहु र नाम जे सुकै दिएपनि
लुटन पल्केकाहरुलाई
सरकारी छुट जो छ
संशय, सन्देह र त्रास बोकेर
तिमीलाई मनाउनु कसरी ?
दशैं यो पटक तिमी नआउदा हुदैन ?

गरीवका झुपडी र सास
बगाउन बाढी आउने देशमा
भ्रष्टाचार, कुशासन र मनपरी तन्त्र
पखालेर लैजाने बर्खा किन आउदैन ?
अधुरो छ, आन्दोलन
अधुरो छ, शहीदको सपना
हत्यारा र देश लुटेराहरुको
आसन फेरियो
भासन फेरिएन
सबैचिज अधुरो छ,
तिमी कसरी भरी हुन सक्छौ ?
तिमी भरी भएपछि आउनु
दशै, यो पटक तिमी नआउदा हुदैन ?

हमासले कब्जामा लिएको
छोरा खोज्दै
ईजरायल र अमेरिका भौतारिरहेकी
आमा र दिदीले
तिमी आयौ भनेर कसरी मनाउनु खुशी ?
छोरा आगनमा नआएपछि
तिमी आउनुको के खुशी ?
दशैं यस पटक तिमी नआउदा हुदैन ?

मुग्लानबाट
बसमा पहाड उक्लेकाहरु
टेक्नै नपाई आगनमा
मनाउन नपाउदै उत्सव
कहिले सेतीमा बगे
कहिले जोरायलमा खसे
किस्ता किस्तामा फर्किने
परदेशिएका दाजुभाई
पुग्नै नपाई आगनमा
अस्ताउछन बाटोमा
कहिले काली दुख्यो
कहिले कर्णाली
यसपटक देशै दुख्यो

आगो पैचो मागेर हुर्किएको समाजमा
हुल बाँधेर आएको छिमेकीले
घरमा आगो झोसेपछि
मनाएको बिजयोत्सव
निमेषमै खरानी पारिएको वर्षौको मिहिनेत
आफ्नै आगनमा शरणार्थी हुनुको पीडा
जोसंग रहेनन, अक्षताका लागि चामल
के ले भर्नु निधार ?
भन त दशैं
तिमीलाई खानु कि लाउनु ?
तिमी नआउदा हुदैन यस पटक ?

आहा ! त्यो दशैं
त्यो मच्चिने रोटे पिङ
भूई छोड्न
पालो पर्खिरहेका मान्छेहरु
त्यो रामलीलाको रमाईलो
लंगुर बुर्जा र खड्खडेमा झुम्मिएका
युवाहरु
जहाँ हार्नुको पीडा छैन
परदेशबाट
घरदेश फर्किएकाहरुको
अभूतपूर्व जमघट
किम्बदन्ती झै लाग्ने रौनक
त्यो रमाईलो
अनि त्यो दशैं ।
तिमी यस पटक तिमी जस्तै भएनौ
हो दशैं, तिमी दशैं जस्तै भएनौ ।
त्यसैले यसपटक
तिमी नआउनु है दशै ।

(सम्पूर्ण शहीदहरुमा समर्पित)

One thought on “दशैं, यस पटक तिमी नआउदा हुदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस