वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं १५ असोज । वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत मंगलबार भएको तेस्रो खेल वेस्टइन्डिजले १० विकेटले जितेको छ । १२३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १२.२ ओभरमा विजयी भएको हो ।
वेस्टइन्डिजका लागि ओपनरद्वय अमिर जंगोले ४५ बलमा ६ छक्का र ५ चौकासहित ७४ रन र अकिम अगस्टेले २९ बलमा २ छक्का र ४ चौकासहित ४१ रन बनाएपछि वेस्टइन्डिजले १० विकेटको सहज जित निकालेको हो ।
यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। नेपालका लागि कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।
वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए। जेडाया ब्लेड्सको दुई तथा अकिल हुसैन र जेसन होल्डरका नाममा समान एक/एक विकेट रह्यो।
नेपालले सोमबार भएको दोस्रो खेलमा ९० रनले र शनिबार भएको पहिलो खेलमा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो । यससँगै नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ टुंग्याएको छ ।