तीन दिन देशभर वर्षा हुने

काठमाडौं १५ असोज । दसैँकाे टीकाकाे भाेलिपल्ट अर्थात् एकादशीदेखि तीन दिन देशभर वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाले याे अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताएकाे हाे।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यूनचापीय प्रणालीको कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी)का दिनबाट मनसुन सक्रिय हुने भएकाे हाे।
असोज १७ (एकादशी): कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।
दसैँकाे टीकाकाे दिन अर्थात् १६ असाेजसम्म मनसुनी वायुको प्रभाव रहने अनुमान यसअघि नै सार्वजनिक भएकाे थियाे। तर, दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेकाे छ।