टिकटकर आँचलले आत्मदाह गरेको प्रहरीको निष्कर्ष, दुरुत्साहनमा एक युवक पक्राउ

द एभरेष्ट पोष्ट
१२ असोज २०८२ १७:२३
टिकटकर आँचलले आत्मदाह गरेको प्रहरीको निष्कर्ष, दुरुत्साहनमा एक युवक पक्राउ

काठमाडौं । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार जलेको अवस्थामा भेटिएकी आँचलको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।

जडिबुटीस्थित एक गाडी मर्मत गर्ने ग्यारेजमा अपराह्न ४ बजेको समयमा आँचलको शरीरमा आगो लागेको थियो । प्रहरीले उनले आत्मदाह गरेको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनले आत्मदाह गरेको भन्ने ठहरमा पुग्ने भिडियो फुटेज सुरक्षित छ । तर, उनलाई सो ग्यारेजसम्म पुर्याउने काम कसले र कुन उद्देश्यले गर्यो भन्ने कुराको अनुसन्धान हुने भट्टराईले बताए ।

अनुसन्धानकै क्रममा उनको प्रेमी भनी प्रचारित एक युवकलाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए । ती युवकविरुद्ध आँचलका परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् ।

शरीरमा आगो लगाएलगत्तै प्रत्यक्षदर्शीले उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेका थिए । आँचल पुरानो सिनामंगल (पेप्सीकोला) मा डेरा गरी बस्थिन् । उनको परिवारका एक सदस्यका अनुसार डेरासँगै बस्ने एक छिमेकी महिलासँग पछिल्ला केही दिनमा भनाभन चलिरहेको थियो । उनै महिला सञ्चालक रहेको ग्यारेजमा आगलागीमा परेका कारण आफन्तले उनीमाथि शंका गरेका छन् । सोही शंकाका आधारमा प्रहरीले केही महिलालाई नियन्त्रणमा लिएको थियो । तर, पुरुषका नाममा परिवारको सदस्यले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएपछि प्रेमी भनिएका युवकलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

केही समयदेखि आँचलले आफ्नो टिकटकमा निराशाजनक पोस्ट गरिरहेकी थिइन् । उनले चार दिनअघि मात्र लेखेकी थिइन्, ‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो । थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ ।’

कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ की स्थायी बासिन्दा आँचलको उमेर २२ वर्ष पुगेको थियो । वैदेशिक अध्ययनका क्रममा युरोप जाने तयारीमा रहेकी उनको भिसा लागिसकेको पारिवारिक स्रोतले जनाएको छ । आँचलको वैवाहिक स्थितिका बारेमा विभिन्न टिकाटिप्पणीहरु भइरहे पनि प्रहरीले भने उनी अविवाहित रहेको बताएको छ ।

एउटा महोत्सवमा सांगीतिक प्रस्तुतिका क्रममा दर्शक दिर्घामा रहेकी आँचल ग्वाँग्वाँ रोएको भिडिओ/फोटो भाइरुल भएको थियो । टिकटकमा उनका १ लाख २० हजार फलोअर्स छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस