नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओको राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राजनीतिक प्रभाव र भागबन्डाका आधारमा अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईं नियुक्त भएको भन्दै नेप्से कर्मचारी संघले कडा आपत्ति जनाएको छ।
कर्मचारीहरूले बस्याललाई नेप्सेसँगै उनको निजी कन्सल्टेन्सीबीचको पुरानो भुक्तानी विवादकै बीच अध्यक्षमा नियुक्त गर्नु स्वार्थ बाझिने विषय भएको आरोप लगाएका छन्। केही वर्षअघि उनले देखावटी परियोजना शीर्षकमा २५ लाख रुपैयाँको भुक्तानी माग गर्दा अस्वीकार भएपछि तत्कालीन व्यवस्थापनमाथि अनर्गल आरोप लगाउँदै संस्थाको छवि धुमिल पारेको प्रसंग पनि कर्मचारीहरूले स्मरण गराएका छन्।
बस्यालले कर्मचारीबीच फुट ल्याउने, धम्क्याउने, प्रलोभन दिने र कार्य वातावरण बिगार्ने काम थालेको विज्ञप्तिमा उल्लेख छ।
उनी २०८० मंसिरमा अर्थ मन्त्रालयमा पेस भएको पुनर्संरचना प्रस्तावलाई असफल बनाउन सक्रिय रहेको आरोप पनि लगाइएको छ। ठूला खरिद प्रक्रियामा हस्तक्षेप गरी स्वार्थसिद्ध गर्ने र तत्कालीन अर्थमन्त्रीसँग मिलेमतो गरेको आशंका समेत कर्मचारीहरूले व्यक्त गरेका छन्। त्यस्तै, छ महिनाअघि नियुक्त सीईओ चूडामणि चापागाईंबारे पनि पुनर्संरचना, प्रविधि विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न असफल भई बिचौलियाको दबाबमा काम गरेको आरोप लगाइएको छ। कर्मचारीहरूको भनाइमा, दुवै पदाधिकारीले तत्काल राजीनामा नदिएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिइने छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आफ्ना माग फेर्दै अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँको राजीनामा माग गरेका छन्।
मंगलबार बोनसको माग गर्दै उनीहरूलाई राति १२ बजेसम्म कोठामा थुनेका कर्मचारीले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुवैको तत्काल राजीनामा माग गरेका हुन्। उनीहरूले हातमा कालो पट्टी बाँध्ने, धर्ना बस्ने र कार्यकक्षमा तालाबन्दी गर्नेजस्ता संघर्ष कार्यक्रम पनि घोषणा गरेका छन्। गत भदौ २७ गते पदभार ग्रहण गरेका अध्यक्ष बस्याल १० दिन पनि काम गर्न नपाउँदै विवादमा परेका छन्। कर्मचारीहरूले उनलाई कर्मचारीबीच फुट ल्याउने, धम्की दिने र स्वार्थसहित नेप्सेमा प्रवेश गरेको आरोप लगाएका छन्।
यता सीईओ चूडामणि चापागाईँमाथि पनि पुनर्संरचना, प्रविधि विकास र लगानीकर्ताको विश्वास बढाउन असफल भई बिचौलियाको दबाबमा काम गरेको आरोप लगाइएको छ। दुवै पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने नेप्से कर्मचारी संघको चेतावनी छ।