बाजुराका स्याउ धनगढीमा, उचित मूल्य पाएपछि किसान हर्षित

बाजुराका किसानलाई डोकोमा स्याउ बोकेर सदरमुकाम मार्तडी र कोल्टी पुर्‍याउनु पर्ने बाध्यता हटेको छ ।

द एभरेष्ट पोष्ट
९ असोज २०८२ ११:४०
बाजुराका स्याउ धनगढीमा, उचित मूल्य पाएपछि किसान हर्षित

कैलाली । मुक्तिनाथ कृषि कम्पनी लिमिडेडले बाजुराका स्याउ ब्राण्डिङ गर्न थालेको छ । सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सँगै देशभरका मुख्य सहरमा ब्राण्डिङ गर्न थालेको हो ।
दुर्गम जिल्ला बाजुराका स्याउ सिधै धनगढी ढुवानी हुनथाले पछि किसान हर्षित भएका छन । मुक्तिनाथ कृषि कम्पनि सुदूरपश्चिम, स्थानिय पालिका र कृषि ज्ञान केन्द्रको समुन्वयमा बजार नपाएका स्याउले मुख्य बजार पाएपछि किसानको मनोवल पनि बढेको छ ।
बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ जोरुका दन्त रावलले यो वर्ष २५ लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताए । पहिलोपटक गाउँबाटै ठूलो मूल्यका स्याउ बिक्री भएपछि उनी मख्ख छन् । अघिल्लो वर्षसम्म उत्पादन भएका स्याउ कसरी बिक्री गर्ने भन्ने चिन्ताले किसानलाई सताउँथ्यो । तर यो वर्ष बिक्री त के सदरमुकामसम्म पुर्‍याउने झन्झट पनि उनीहरूलाई भएन ।

‘गाडीमा ५ घण्टा, हिँडेर डेढ दिन लाग्छ सदरमुकाम पुग्न । त्यति दुःख गरेर स्याउ पुर्‍याइहाल्यौं भने पनि बिक्री हुने हो कि होइन भन्ने चिन्ता हुन्थ्यो । सस्तोमै बेच्नु पर्थ्यो । तर यो वर्ष राम्रो मूल्यमा गाउँबाटै सबै स्याउ बेच्यौं,’ रावलले भने ।

किसानले स्याउ बिग्रिन नदिन गोदाममा राख्नु पर्ने हुन्छ । एक दिनको गोदाम शुल्क मात्रै ५ देखि ७ हजार लाग्छ । मार्तडीमा बिक्री नभएका स्याउ सुर्खेत लगेर बेच्नु पर्ने बाध्यता किसानलाई थियो । पोहर साल जोरुबाट २ दिन लगाएर मार्तडी हुँदै सुर्खेत स्याउ पुर्‍याएका रावलले त्यहाँ उचित मूल्य नपाएको सुनाए । ‘गोदामको, खानबस्नको पैसा लाग्ने । सुर्खेत पुर्‍याएर पनि सस्तोमा बेच्नु पर्ने । आधा स्याउ सडेर जाने । फाइदा भन्दा घाटा बढी हुथ्यो,’ उनी भन्छन्, ‘अहिले केही चिन्ता छैन । हाम्रो स्याउ सिधै धनगढी पुग्छ ।’

मार्तडी र सुर्खेतमा ३० देखि ४० रुपैयाँ प्रतिकेजीमा बेच्ने उनले मुक्तिनाथसँग गाउँबाटै ६० रुपैयाँ केजीमा स्याउ बिक्री गरेका छन् । रावलजस्तै अर्का किसान प्रेम कटेलले गाउँभरिका किसानको स्याउ जम्मा गरेर ६० क्विन्टल बिक्री गरेका छन् । करिब १५०० बोटमा स्याउ उत्पादन गरिरहेका उनले बजार सुनिश्चित भएपछि थप व्यावसायिक तरिकाले खेती गर्ने बताए । पहाडमा स्याउको बजार खासै छैन । त्यसकारण गाउँपालिका, कृषि ज्ञान केन्द्र र कृषि कम्पनीको सहयोगमा स्थानीय कृषक समूहले तराईमा स्याउ पुर्‍याएर बिक्री गर्न थालेका हुन् ।

यससँगै बाजुराका किसानलाई डोकोमा स्याउ बोकेर सदरमुकाम मार्तडी र कोल्टी पुर्‍याउनु पर्ने बाध्यता हटेको छ । गत असोज ५ गते कम्पनीले किसानहरूबाट ६० क्विन्टल स्याउ धनगढी ल्याएको थियो । जसमध्ये ३५ क्विन्टल बिक्री भएको र बाँकीको अर्डर पनि आइसकेको मुक्तिनाथ कृषि कम्पनीले जनाएको छ ।

बाजुराबाट कर्णाली प्रदेशको दैलेख, सुर्खेत र लुम्बिनी प्रदेशको बाँके, बर्दिया हुँदै धनगढीसम्म अर्गानिक स्याउ पुग्न थालेको छ । स्थानीय बजारमा ४० रुपैयाँमा पनि बिक्री नहुने स्याउ तराईमा प्रतिकेजी १ सय ३० रुपियाँका दरले बिक्री हुने गरेको किसानहरू बताउँछन् ।

स्याउ खरिददेखि बिक्रीसम्म मुक्तिनाथ कृषि कम्पनीले किसानलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ । कम्पनीका सुदूपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक हिक्मतराज उपाध्याय दुर्गमका उत्पादनलाई बजारीकरण, ब्रान्डिङ, किसानको आम्दानी वृद्धि र बजारको सुनिश्चितता कायम गर्न काम गरिरहेको बताउँछन् ।

‘दुर्गमका किसान धेरै कुरा उत्पादन गर्नु हुन्छ । तर, त्यो उत्पादनले न बजार पाउँछ, न त उचित मूल्य । यी सबै समस्यालाई मध्यनजर गर्दै हामी बाजुरासम्म पुगेका हौं ।’ उपाध्यायका अनुसार मुक्तिनाथले स्याउ मात्रै होइन, सिजनअनुसार त्यहाँ उत्पादन हुने मकै, कोदो, भटमास लगायतका बस्तु बिक्री ग्यारेन्टीको सम्झौता गरेको छ । यससँगै किसानलाई आवश्यक कृषि विशेषज्ञ, प्राविधिक सहयोग पनि उपलब्ध गराउने योजना कम्पनीको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष बाजुरामा ५ सय २४ हेक्टरमा स्याउ खेती गरिएको छ । यसमध्ये १ सय २ हेक्टरमा मात्रै ६० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । उत्पादित स्याउ मुक्तिनाथ कृषि कम्पनीमार्फत देशभरका मुख्य बजारमा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । ‘पहिला सबैभन्दा बढी समस्या ढुवानीको थियो । अर्को ब्रान्डिङ नहुँदा किसानले बजार पाए पनि गुणस्तर कायम गर्दैन थिए । मुक्तिनाथले गर्दा स्याउले बजार र गुणस्तर दुवै पाउने आशा छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख साहनीले भने ।

उनका अनुसार पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र उत्पादन हुने स्याउ अहिले हिमाली, गौमूल र खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ । यहाँ फुजी, गाला र गोल्डेन जातका स्थानीय स्याउ उत्पादन हुने गरेको हुन्छन् ।

स्याउ धेरै उत्पादन हुने पालिकामध्ये एक स्वामिकार्तिक गाउँपालिका पनि एक हो । पालिकाका अध्यक्ष भरत रोकायाका अनुसार उत्पादन बढी भए पनि बिक्री नहुँदा स्याउ सडेर खेर जान्थ्यो । यो वर्ष कृषि ज्ञान केन्द्र र पालिकासँग समन्वय गरेर मुक्तिनाथले स्याउ किनेपछि किसानको मनोबल बढेको उनले बताए ।

उनका अनुसार मुक्तिनाथ कृषिले किसानबाटै स्याउ खरिद गर्ने गरेको छ । खरिद गर्दा ७० प्रतिशत अग्रिम र ३० प्रतिशत रकम बिक्री भएपछि किसानलाई बुझाउने सम्झौता पालिकासँग भएको छ । ‘बजार नपाएका किसानले राम्रो मूल्य पाएका छन् । ढुवानी खर्च पनि मुक्तिनाथले नै व्यहोर्ने हुँदा ठूलो राहत भयो,’ उनले भने, ‘कम्पनीसँग आधिकारिक रूपमा सम्झौता भइसक्यो । किसान ठगिने डरबाट पनि ढुक्क भएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस