शेखर–गगन पक्षले थाल्यो हस्ताक्षर अभियान
काठमाडौं ८ असोज । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । पार्टी विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्छ । तर, जेन–जी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको, अभिलेख जलेर नष्ट भएको र सदस्यताको विषय नटुंगिएको कारण देखाउँदै संस्थापन म्याद थप्ने दाउमा रहँदा इतर समूहले तत्काल विशेष महाधिवेशनका लागि दबाब बढाएको छ ।
संस्थापनइतर पक्षले हस्ताक्षर अभियान चलाएर संस्थापनमाथि दबाब बढाएको छ । काठमाडौंमा उपलब्ध १०९ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ । बाँकीलाई पनि हस्ताक्षर गराउन फम्र्याट तयार हुँदै गरेको युवानेता गुरुराज घिमिरेले बताए । दसैँभर आवश्यक संख्या पुर्याएर विशेष महाधिवेशनका लागि लिखित आग्रह गर्ने उनको भनाइ छ ।
कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । तर, विधानअनुसार नै म्याद थपेर थप एक वर्ष नेतृत्वमा रहन सक्छन् । कांग्रेस विधानले नै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने अधिकार दिएको छ । यही व्यवस्थामा टेकेर संस्थापन पक्ष एक वर्ष म्याद थप्ने रणनीतिमा देखिँदा इतर समूहले विशेष महाधिवेशनमा जोड दिँदै हस्ताक्षर अभियानसमेत सुरु गरेको हो ।
कांग्रेस विधानमा केन्द्रीय सदस्यले नै विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्यहरूको हस्ताक्षर गराइएको छैन । कांग्रेस विधानको धारा १७ को उपधारा २ मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था छ । केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने वैधानिक व्यवस्था छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्र्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानमा छ ।
४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित लिखित अनुरोध गरे केन्द्रीय समितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । ०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा चार हजार ७४३ जना प्रतिनिधि थिए । त्यसको ४० प्रतिशत अर्थात् एक हजार ८९८ जनाले हस्ताक्षर गर्नुपर्छ । जेन–जी आन्दोलनपछि गत शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विकसित परिस्थितिमा विशेष महाधिवेशन गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।
संस्थापन पक्ष भने परिस्थिति सम्हालिएपछि नियमित महाधिवेशन गर्ने पक्षमा छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कार्यसम्पादन समितिको निर्णयभन्दा बाहिरबाट थालिएको छलफलले राम्रो नगर्ने बताए ।
