यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम

द एभरेष्ट पोष्ट
६ असोज २०८२ १५:३८
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी डा. संगीता कौशल मिश्राको नाम विवादमा आएपछि एकाएक काटिएको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी थिइन् ।

उनीसँगै मन्त्रीका लागि सिफारिस भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति पौडलले सोमबार दिउँसो शपथ खुवाए । तर अन्तिम समयमा आएर डा. मिश्राको नाम भने काटियो ।

नवनियुक्त मन्त्रीहरूको शपथ आइतबार राति नै गर्ने तयारी थियो । तर, अकस्मात शपथ रोकियो । प्रधानमन्त्री कार्यालय स्रोत अनुसार नवनियुक्त मन्त्रीमा डा. मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको हो । प्रधानमन्त्री कार्कीबाट शपथ आजका लागि ‘होल्ड’ गर्न राष्ट्रपति कार्यालयलाई खबर गरिएको थियो ।

‘डा. मिश्राको नाम विवादमा आएपछि प्रधानमन्त्री कार्यालयबाट ‘होल्ड’ गर्नुभन्ने जानकारी प्राप्त भयो,’ स्रोतले  भन्यो, ‘ उहाँमाथि मेडिकल उपकरण खरिद लगायत अन्य फाइल पनि अख्तियारमा छानबिनकै क्रममा रहेकाले आज नाम काटिएको हो ।’

डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी विचाराधीन छ । खासगरी स्वास्थ्य उपकरण खरिदका निर्णयमाथिको फाइलमा अनुसन्धान चलिरहेको छ र टुंगिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस