६–७ सय गाडी रोकिँदा हजारौँ यात्रुको बिचल्ली

चितवन ५ असोज । दसैँको मुखमा सवारीसाधनको चाप बढ्दै गएका वेला शुक्रबार साँझ साढे ६ बजेदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिनभरको प्रयासमा पनि खुल्न सकेन । पहिरोले अवरुद्ध झन्डै डेढ सय मिटर सडक खुलाउने प्रयास शनिबार रातिसम्म सफल नभएपछि हजारौँ यात्रु बिचल्लीमा परेका छन् ।
मुग्लिङ बजारदेखि करिब दुई किलोमिटर दक्षिणपट्टि रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइन खोला पुलछेउमा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । शुक्रबार साँझदेखि नै सडक खुलाउन पहल थाले पनि निरन्तर ठुल्ठुला ढुंगासहित पहिरो खसेपछि काम अघि बढ्न सकेन । शनिबार वर्षा नभए पनि सुक्खा पहिरो थियो ।
सडक खुलाउन नारायणगढपट्टि दुई र मुग्लिनपट्टि तीन गरेर पाँचवटा मेसिन परिचालन भएका थिए । शनिबार साँझ साढे ६ बजेतिर सडक खुलाउन अधिकांश काम सकिए पनि पुन: ठुला ढुंगासहितको पहिरो खस्दा समस्या भएको चिवतनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार मानवीय हताहत भने छैन ।
‘एक–डेढ घण्टामा सडक खुल्ने आशा थियो । तर, भूकम्प आएजसरी ठुल्ठुला ढुंगासहित पुन: पहिरो आयो । त्यसले मेसिनलाई पनि क्षति पुर्यायो । यद्यपि, मानवीय क्षति भएन । त्यसपछि सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै शनिबार रातिलाई बाटो खोल्ने काम स्थगित गरिएको छ,’ उनले भने, ‘आइतबार बिहान साढे ४ बजेदेखि पुन: काम सुरु गर्छाैँ । तर, वेलावेला पहिरो खसेकाले कति समय लाग्छ भनेर यकिन गर्न गाह्रो छ ।’
पटक–पटक सुक्खा पहिरो खसेपछि सडक खुलाउन नसकेको सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रको भौगोलिक बनावट यसै पनि कमजोर छ । त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ । त्यसले गर्दा पहिरो रोकिन समय लागेको उनको भनाइ छ । ‘पहिरोले डेढ सय मिटरभन्दा बढी सडक अवरुद्ध गरेको छ । कहिलेसम्म खुलाउन सकिन्छ भन्नै सकिन्न । निर्वाध रूपमा काम भए ८–१० घण्टा लाग्न सक्छ,’ उनले भने ।
सडक अवरुद्ध हुँदा दुईतिर गरेर हजारौँ गाडी अलपत्र परेको तथा दसैँका वेला यात्रा सहज बनाउन कठिन परिस्थिति आएको चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘अहिले दुवैतर्फ ६–७ सय गाडी अलपत्र छन् । त्यसमा हजारौँ यात्रु अलपत्र छन्,’ उनले भने, ‘सडक कहिले खुल्छ भनेर भन्न सक्ने अवस्था छैन । दसैँका वेला कठिन परिस्थिति आयो ।’