एसिया कपमा छोराको खेल हेर्दाहेर्दै पिताको निधन, श्रीलंकन क्रिकेटर वेल्लालागे प्रतियोगिता छाडेर स्वदेश फर्किए

द एभरेष्ट पोष्ट
३ असोज २०८२ १४:५१
एसिया कपमा छोराको खेल हेर्दाहेर्दै पिताको निधन, श्रीलंकन क्रिकेटर वेल्लालागे प्रतियोगिता छाडेर स्वदेश फर्किए

काठमाडौं : श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लालागे एसिया कप टी-२० प्रतियोगिता बीचमै छाडेर स्वदेश फर्किएका छन्।

बिहीबार राति अफगानिस्तानविरुद्धको खेलका क्रममा उनका पिता सुरन्गा वेल्लालागेको हृदयाघातबाट निधन भएपछि उनी आकस्मिक रूपमा कोलम्बो फर्किएका हुन्।

श्रीलंकाली सञ्चारमाध्यमका अनुसार, उनका पिता सुरन्गा टेलिभिजनमा खेल हेरिरहेका थिए।

खेलको पहिलो इनिङ्समा दुनिथले बलिङ गरेको ओभरमा अफगानिस्तानका मोहम्मद नाबीले लगातार पाँच छक्का प्रहार गरेपछि सुरन्गा गहिरो तनावमा परेका थिए। त्यसलगत्तै छातीमा गम्भीर दुखाइ भएपछि उनलाई अस्पताल लगिएको थियो, तर चिकित्सकले बचाउन सकेनन्।

यो दुःखद खबरबारे दुनिथलाई खेल सकिएपछि मात्रै टिम व्यवस्थापनले जानकारी दिएको थियो। खबर पाउनासाथ उनी स्वदेश फर्किएका थिए।

उक्त खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। वेल्लालागेले सो खेलमा चार ओभर बलिङ गर्दै ४९ रन खर्चेर एक विकेट लिएका थिए। यो उनको करियरको पाँचौं टी-२० अन्तर्राष्ट्रिय खेल थियो।

२२ वर्षीय वेल्लालागे प्रतियोगिताका बाँकी खेलका लागि फर्किने वा नफर्किनेबारे अझै टुङ्गो लागेको छैन। सुपर-फोर चरणमा श्रीलंकाले शनिबार बंगलादेश, २३ सेप्टेम्बरमा पाकिस्तान र २६ सेप्टेम्बरमा भारतसँग खेल्ने तालिका छ।

यस घटनाप्रति श्रीलंकाका पूर्वकप्तान लसिथ मालिङ्गा र अफगानिस्तानका खेलाडी मोहम्मद नाबीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस