भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार नेपालीको मृत्यु

एजेन्सी : भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।
सिमला जिल्लाको कोटखाईनजिक पिकअप जिप दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो।
दुर्घटनामा सोही ठाउँका नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। मृतक डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एकै परिवारका सदस्य हुन्। यस्तै दुर्घटनामा चालक भारतीय जोगिन्दर सिंहको पनि मृत्यु भएको छ।
भारतीय प्रहरीका अनुसार, चालकले नियन्त्रण गुमाउँदा जिप भीरबाट तल खसेको थियो।
दुर्घटनामा तीन जनाको घटनास्थलमै र अन्य दुई जना (लक्ष्मी र डिल्लीबहादुर) को उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। घाइते दुवै जनालाई भने उपचारपछि स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।
मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ।
घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र स्थानीय सांसद तथा शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन्।
उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।