‘बाँचे फर्किन्छु’ भनेर आन्दोलनमा हिँडेका कमल फर्किएनन्

द एभरेष्ट पोष्ट
२८ भदौ २०८२ १६:२६
‘बाँचे फर्किन्छु’ भनेर आन्दोलनमा हिँडेका कमल फर्किएनन्

बिर्तामोड : भदौ २३ गते सोमबार जेन–जीको आन्दोलनका क्रममा १९ जनाभन्दा बढीको मृत्यु भएको खबर आएपछि देशभर आक्रोश चुलिएको थियो । सोही घटनाले पाँचथर हिलिहाङ–१ घर भई हाल बिर्तामोड–१० मा बसोबास गर्दै आएका ३१ वर्षीय कमल भण्डारीलाई पनि छोयो ।

भोलिपल्ट बिहान घरबाट निस्किनुअघि उनले श्रीमती सीतालाई भनेका थिए, ‘म आन्दोलनमा निस्किएँ, बाँचें फर्किन्छु, मरे भने सहिद बनौंला ।’ त्यसदिनदेखि उनी घर फर्किएनन् । मंगलबार रातिसम्म सीताले श्रीमान्को बाटो पर्खिरहिन् । फोन गर्दा घण्टी बज्थ्यो, तर कसैले उठाउ“दैनथ्यो । त्यो रात कमल घर फर्किएनन् । बाटो हेर्दाहेर्दै उनी निदाइन् ।

बुधबार बिहान उनले फेरि सहास जुटाएर फोन गरिन् । यसपटक भने फोन बीएन्डसी अस्पतालका सुरक्षा गार्डले उठाएर भने, ‘तपाईंका श्रीमान् अस्पतालमा हुनुहुन्छ, भेट्न आउनुहोस् ।’

आत्तिदै सीता अस्पताल पुगिन् । तर त्यहाँ कमलको शव देखेपछि उनी बेहोस भइन् । लामो समय कतारमा पसिना बगाएर ६ महिनाअघि मात्रै स्वदेश फर्किएका कमल बिर्तामोडमा घर निर्माणमा जुटिरहेका थिए। लामो समय खाडीमा दुःख गरेर केही रकम जोहो गरेका थिए । केही समयअघि घडेरी जोडेका थिए । अहिले त्यही घडेरीमा घर बनाउँदै थिए । सानो परिवारसँग चिटिक्कको घरमा बस्दै सुखमय जीवन बिताउने उनका सपना अधुरै रहे ।

भण्डारीको शव अहिले पनि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमै छ । परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको छ । आफन्त सन्तोष भण्डारीका अनुसार उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने परिवारको अडान छ । ‘न्याय चाहिन्छ। अन्यायको पीडामा यसरी शव उठाएर चुप लाग्न सकिदैन,’ सन्तोष भन्छन् ।

६ वर्षीय छोरा रियान्सबुबा फर्किन्छन् भन्ने आशामा छन् । सीताले नाबालक छोरालाई वास्तविकता बताउने आँट जुटाउन सकेकी छैनन् । जेन–जी आन्दोलनका क्रममा झापामा भण्डारीसँगै अर्जुनधारा नगरपालिकाका ३० वर्षीय गोपाल सेढाईंको समेत मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस