सिंहदरबार सञ्चालनमा अन्योल

द एभरेष्ट पोष्ट
२७ भदौ २०८२ ८:५६
सिंहदरबार सञ्चालनमा अन्योल

काठमाडौं । सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरू प्रदर्शनकारीले ध्वस्त बनाएपछि तिनबाट सार्वजनिक सेवा प्रवाह कहिले, कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै रहेको छ । मुख्यसचिव एकनारायण अर्यालले बिहीबार सचिवहरूसँग ‘भर्चुअल’ बैठक गरे पनि अत्यावश्यक सेवा सञ्चालनमा निष्कर्ष निस्किएन ।

‘भर्चुअल’ बैठकमा देशैभरि शान्ति सुरक्षाको स्थिति मजबुत नभएसम्म काम गर्ने वातावरण नरहेको सचिवहरूले बताएका थिए । ‘भोलि (शुक्रबार) सबै सचिवहरूले सिंहदरबारमा रहेका मन्त्रालयको स्थिति अवलोकन गर्न जाने कुरा भएको छ,’ बैठकमा सहभागी एक सचिवले भने, ‘कुनै मन्त्रालय पूरै ध्वस्त भएको छ, कुनै आधा, कुनैमा आंशिक क्षति भएको छ ।’

कागजपत्र, कम्प्युटर, डेटा व्यवस्थापनलाई प्राथमिकतामा राखेर शुक्रबारबाट काम गरिने जानकारी पनि ती सचिवले दिए । उनका अनुसार मन्त्रालयको स्थिति हेरेर बस्न सकिने भएर सरसफाइ गराउन मुख्य सचिवले निर्देशन दिएका छन् ।

सिंहदरबारमा जथाभावी भइरहेको प्रवेश रोक्न बिहीबार नेपाली सेनालाई आग्रह गरिएको छ । ‘सचिवहरूले नियमित भेटेर छलफल गर्दै सिंहदरबारबाट हुने कामलाई सहज बनाउँदै जाने प्रयास हुनेछ,’ बैठकमा सहभागी सचिवले सुनाए, ‘क्षति अपूरणीय छ । आजकै भोलि सिंहदरबार सञ्चालनमा आइहाल्दैन । तर प्रयास थालिहाल्ने कुरा भएको छ ।’

अत्यावश्यक सेवालाई प्राथमिकता दिएर सञ्चालन गराउने पनि छलफल भएको छ । जिल्ला प्रशासन, मालपोतलगायतका कार्यालयबाट सक्दो छिटो सेवा प्रवाह थाल्ने गरी गृहकार्य गर्ने जिम्मेवारी सम्बन्धित सचिवहरूलाई दिइएको छ । प्रदर्शनकारीले काठमाडौं उपत्यकाभित्र मात्र नभएर जिल्लाहरूमा पनि सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

प्रदर्शनकारीको हूल मंगलबार सिंहदरबारमा छिर्न थालेपछि सचिव तथा कर्मचारीहरू आफ्नो सवारीसाधन मन्त्रालय परिसरमा छाडेर निस्किएका थिए । ‘सार्वजनिक सवारीसाधन नचलेको र सरकारी गाडी जलाइएको हुनाले सबै कर्मचारीलाई बोलाउने स्थिति छैन । तर सिंहदरबारबाट नजिक हुने साथीहरूलाई आउन भनिएको छ,’ बैठकमा सहभागी अर्का एक सचिवले कान्तिपुरसँग भने, ‘सुरक्षित रहेका भवनमा ‘एडजस्ट’ को प्रयास गर्ने वा पाल टाँगेर काम थाल्ने विभिन्न विकल्पमा स्थिति विश्लेषणपछि मात्रै तयारी हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेनजी भर्चुअल छलफलमा

२५ भदौ २०८२ १६:०१

खोज्नुहोस