महेश बस्नेतको बिलौना- अढाई करोड ऋणमा छु, सबै ध्वस्त पारियो, घरबार विहीन भएँ

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १४:४८
महेश बस्नेतको बिलौना- अढाई करोड ऋणमा छु, सबै ध्वस्त पारियो, घरबार विहीन भएँ

काठमाडौं : एमाले नेता महेश बस्नेतले ‘जेनजी’ आन्दोलनका कारण मंगलबार शरणार्थी जीवन बिताएको भन्दै बिलौना पोखेका छन्।

घरपरिवारले ‘बोल्यौं भने, भेटे भने हत्या गर्छन्’ भनेपनि आफू मौन बस्न नसकेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका छन्।

बुधबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जलेको घरको भिडियो बनाउँदै उनले राजनीतिमा चासो नै नराख्ने आफ्नो परिवारलाई जिउँदै जलाउने प्रयास भएको बताएका छन्। उनले सार्वजनिक गरेको घरको भिडियोमा तोडफोड भएको र घर जलेर पुरै कालो भएको देखिन्छ।

‘७७ वर्षका मेरा निर्दोष बुबा, ओपन हर्ट सर्जरी गराएकी ७२ वर्षकी आमा, राजनीति चासो नै नराख्ने मेरी श्रीमतीलाई आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो’ उनले लेखेका छन्, ‘आमाबुबालाई खुवाउने औषधि  र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई। घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ।’

उनले आफू सुकुम्बासी नै नभए पनि घरबार विहीन भएको भन्दै दुःख पोखेका छन्। पीडामा भए पनि पीडा देखाउन नमिल्ने ठाउँमा भएको भन्दै उनले आफू सांसद र मन्त्रीको जिम्मेवारीमा आउनु भन्दा १४ वर्ष अगाडि आफ्नो बुबाले बनाएको घर ध्वस्त भएको लेखेका छन्।

‘अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन। राजनीतिक यात्रा, छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण (बाणिज्य बैंक बानेश्वर शाखाबाट १ करोड, शंखधर सहकारी ठिमीबाट ६५ लाख, साना किसान सहकारी गुण्डुबाट ८५ लाख) बोकेको छु,’ उनले लेखेका छन्।

यसै बीच उनले आन्दोलनमा भएको घुसपैठ र रास्वपा सभापति कारागारबाट निस्किएकोमा समेत आपत्ति जनाएका छन्।

‘भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरू जेल जीवनबाट मुक्त गरिए। मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने जेनजी को नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो। धेरै अपराधी जेलबाट बाहिर आएका छन्। सेना सडकमा आउन बाध्य भएको छ,’ उनले लेखेका छन्।

देश १०/१२ वर्ष पछाडि धकेलिएको भन्दै अब देशलाई बर्बादीतिर लाने कि बचाउने आन्दोलनकारीको हातमा भएको उनले लेखेका छन्। त्यस्तै आफूमाथि शंका भए अनुसन्धान गर्न भन्दै दोषी ठहरिए सजाय समेत भोग तयार रहेको बताएका छन्।

‘तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ ? मेरो घरको लकर फेला परेको भनेर हल्ला फैलाइयो। म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून्। यदि त्यहाँ एक हजार रुपैयाँ  भेटिन्छ भने मलाई दोषी ठहराउनुस्,’ उनले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस