प्रहरी दमनविरुद्ध अमेरिकामा नेपालीहरूको विशाल प्रदर्शन

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १०:२७
प्रहरी दमनविरुद्ध अमेरिकामा नेपालीहरूको विशाल प्रदर्शन

२४ भदौ, काठमाडौं। भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा करिब ५ हजार नेपाली जम्मा भएको पत्रकार विकासराज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा सोमबार दिउँसोदेखि रातीसम्म नेपालीहरु जम्मा भएर सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्ति गरेका थिए । त्यहाँ उनीहरुले भ्रष्टाचार रोक (स्टप करप्सन), मानव अधिकार हनन भयो (ह्युमन राइट्स भायोलेटेड), जनता मार्न पाइँदैन, नेपालका युवाको आवाज सुनिनुपर्छ, ‘कालो दिन, अस्ताएका सपनाहरु’, रेमिट्यान्स पठाउन बन्द गर, जस्ता नारा लेखेका प्लेकार्ड बोकेर सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा हजारौंको संख्यामा नेपालीहरु जम्मा भएर हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यहाँ जम्मा भएकमा नेपालीहरुले पनि ‘युवाहरुसँग नडराऊ, उनीहरुका कुरा सन’ , ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ भन्ने लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले पनि नेपाल सरकारको दमनको तीव्र विरोध गरेका थिए।

त्यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौं नेपालीहरु स्वस्फूर्त रुपमा जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,’ भन्ने गीत गाएर तथा भ्रष्टाचार र सरकारको विरोधमा नाराबाजी गरेका थिए । त्यहाँ उनीहरुले नेपालको झन्डाको आकारमा दिप प्रज्वलन गरेका सरकारले हत्या गरेका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपालीहरु उपस्थित भएर सरकारले हत्या गरेका युवा विद्यार्थीहरुलाई श्रद्धाञ्जलि व्यक्त गरेको पत्रकार न्यौपानेले जानकारी दिए । अमेरिका अन्य स्थानहरुमा पनि नेपालीहरु स्वस्फूर्त रुपमा उपस्थित भएर मृतकप्रति श्रद्धाञ्जली र सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेन जीको आँधी

२४ भदौ २०८२ ७:४०

खोज्नुहोस