जेन- जी प्रदर्शनमा प्रहरीले गोली चलाउदा १९ जनाको मृत्यु

काठमाण्डौंमा १७ र ईटहरीमा दुई जनाको मृत्यु

द एभरेष्ट पोष्ट
२३ भदौ २०८२ १८:३०
जेन- जी प्रदर्शनमा प्रहरीले गोली चलाउदा १९ जनाको मृत्यु

काठमाडौँ, २३ भदौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा काठमाण्डौं र ईटहरीमा प्रदर्शनमा उत्रिएका जेन- जीहरुमाथि प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाण्डौंमा १७ र ईटहरीमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

अहिलेसम्म ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ ।

सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ । यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।

एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस