सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।
केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्यो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’
गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताएकी छन्।
ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस सरकारबाट बाहिरिनुपर्ने विचार राखिन्। ‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यान भन्दा महत्त्वपूर्ण होइन,’ ढकालले भनिन्, ‘तिमीहरुको निकम्मापनले आज कालो इतिहास लेखिएको छ। गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन्। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ।’
अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे। प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुन माग राखे। पार्टीलाई खनालले भने, ‘अझै हेरेर बस्ने भए, हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं ।’
नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिएका छन्। शाही भन्छन्, ‘यो अपराधी सरकारको साक्षी बस्नेहरु अपराधीबाहेक केही हुन सक्दैनन्। हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरुलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन। यो आन्दोलन अब हाम्रा बच्चाहरुको मात्र होइन हाम्रो पनि हो। पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं।’