पार्टी भित्र र बाहिर ओलीले बेहोरिरहेको क्षति र एमालेको भविश्य

द एभरेष्ट पोष्ट
२२ भदौ २०८२ १०:२०
पार्टी भित्र र बाहिर ओलीले बेहोरिरहेको क्षति र एमालेको भविश्य

समाचार टिप्पणी ।
नेकपा एमालेको दोस्रो विधान अधिवेशन शुरु हुनुअघि सामाजिक सञ्जालका प्लेट फर्ममाथि बन्देज लगाएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान अधिबेशनमा पनि त्यही कुरा गरे, उनले आलोचना र फरक मतमाथि बन्देज लगाए ।

भारतले नाकाबन्दी गर्दा त्यसको प्रतिवाद गरेर राष्ट्रवादी छवि बनाएका ओली नेपालको राजनीतिमा छोटो समयमै सबैभन्दा बढि अलोकप्रिय नेता हुन् ।
फरक मत र आलोचना सुन्नै नचाहने यही स्वभावका कारण उनी पार्टीभित्र र बाहिर आलोचित हुन् ।

विधान अधिवेशनमा जे जति कुरा उठे, ती एमालेलाई बलियो बनाउनेभन्दा पनि ओली स्वेच्छाचारी भएको र उनका अधिकारलाई सिमित गर्नुपर्ने तर्फ केन्द्रित देखिन्थे । एमाले विधान महाधिवेशनमा नेताहरूले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै विधान कार्यकर्तामुखी बनाउनुपर्ने सुझाव दिए ।

अधिबेशनमा नेतृत्व हस्तान्तरण, महिला सहभागिता ५० प्रतिशत पु¥याउने, जिम्मेवारी र नियुक्तिमा स्पष्ट विधि बनाउने लगायतका मागहरू उठे ।
फरक मत राख्ने सदस्यमाथि कारबाही नगर्नु पर्ने र उमेर हद तथा कार्यकाल सीमित गर्नुपर्ने आवाज पनि महाधिवेशनमा बलियोसँग उठे ।

विधान अधिबेशन दुई कित्तामा बाडियो । ओली र भण्डारीका कित्तामा । २०८४ को निर्वाचनमा कसरी बहुमत कायम गर्ने विषयमा बहसै भएन भन्दा हुन्छ, बहसको विषय नै भण्डारीलाई किन सदस्यता दिईएन ? उनलाई सदस्यता दिनु हुन्छ वा दिनु हुदैन ? यही मुल मुद्दा बन्यो ।

ओलीले एमालेको चरित्र कस्तो छ ? यो कम्युनिष्ट चरित्र बोकेको पार्टी हो वा ? उसले यो चरित्र पहिल्यै छोडिसक्यो ? दस्तावेजमा यो खुलाएनन ? अवको एमालेको बाटो के हो ? त्यो पनि खुलाएनन् ? बस्, रास्वपा, राप्रपाका बारेमा उनले टिप्पणी गरे ।

काँग्रेसका बारेमा बिगतका तुलनामा कम आलोचना गरेका ओलीले लोकतन्त्र प्राप्तीमा काँग्रेसको योगदानलाई कम्तिमा यस पटक स्वीकार गरे । त्यो पनि आफ्नो राजनैतिक दस्तावेजमा ।

ओली बिगतमा झै बलियो देखिएनन्, बरु यस पटक पनि कमजोर । अनि रक्षात्मक देखिए । अधिबेशनमा उनको बचाउमा भन्दा विपक्षमा उभिने नेताहरुको संख्या बढ्यो । राजनीति र जीवनको उत्तराद्र्धमा रहेका ओली पार्टीभित्र कमजोर र पार्टी बाहिर आलोचित हुदै गएको सत्यप्रति पक्कै बेखबर छैनन् । ओलीको ढिटका अगाडि उनी अध्यक्ष रहेसम्म कसैको केही चल्दैन, यो अन्तिम सत्य हो ।

ओली भाँचिन तयार हुन्छन् । झुक्दैनन् ।

एमालेमा ओलीको उदयपछि मतदान हुन छाड्यो । अधिबेशन नामको हुन थाल्यो । मतदान नभई नेतृत्व र केन्द्रीय सदस्यहरु चयन हुन थाले । एमालेमा बहस नामको मात्र हुन थाल्यो । बहसको विषय सम्बोधन हुन छाड्यो । र, बहस गर्नेहरुमाथि कारबाहीको डण्डा चलाईन थालियो ।

फरक मत राख्नेहरु कि साधारण सदस्य पनि रहदैनन् । कि भूमिका विहीन बनाईन्छन् । लोकतान्त्रिक चरित्र गुमाईसकेको एमाले न कम्युनिष्ट पार्टी रह्यो । न त लोकतान्त्रिक पार्टी । विधान अधिवेशनमा पार्टीभित्रको लोकतन्त्रको नरहेको कुरा मात्र उठेन, एकथरीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै अनुशासनहीन नेतालाई कारवाही गर्नुपर्ने आवाज समेत उठ्यो ।

आफैले बाघको आकार दिएको ढुंगासंग डराएको मूर्तिकार झै छ, ओलीको अवस्था । यतिबेला ओलीलाई पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको छाँयाले पनि तर्साईरहेको छ ।

ओलीलाई तह लगाउन कर्ण थापाहरु भण्डारी कार्ड प्रयोग गरिरहेका छन् । ओलीको स्वभाव राम्रैसंग बुझेका थापालाई यति थाह छ, ओली जीवित रहेसम्म उनको यो सपना पुरा हुन सक्दैन । फेरि पनि थापा भगीरथ प्रयत्न गरिरहेका छन् । जसको नेतृत्व गरेका छन्, ईश्वर पोखरेलले । र, यसमा विधान अधिबेशनबाट मिसिएका छन्, राम बहादुर थापा बादल ।

बिगतमा ओलीका प्रिय पात्रहरु गोकुल बास्कोटा र महेश बस्नेतहरुले पहिल्यै ओली क्याम्प छोडिसकेका थिए । योगेश भट्टराईले समेत भण्डारीका पक्षमा वकालत गरेपछि पार्टीभित्र ओली दवावमा परेका छन् ।

विधान अधिबेशनमा भण्डारीलाई सदस्यता दिनुपर्ने राम बहादुर थापा बादलको जिकिरले ओलीलाई झस्काएको छ ।

१० भाईको संगतबाट बाहिरिएपछि एमालेमा पाएको स्पेश योगेश भट्टराईलाई जोगाउन धौंधौं छ । न ओलीको विश्वास नै जित्न सकेका छन् । न ओलीभन्दा टाढा फेरि जाने अवस्थामा छन् ।

विद्यादेवी भण्डारी त बहाना हुन् । उनीहरु सबैको मनशाय भने ओलीलाई कमजोर बनाउनु हो ।

हिजो ओलीको विपक्षमा उभिने भीम रावल एक्ला थिए । विधान अधिबेशनमा रावलहरुको संख्या बृद्धि भएको छ । ईश्वर पोखरेल वा कर्ण थापा मात्र भण्डारीको पक्षमा उभिएको भए, दुबै जना रावलले बेहोर्नु पथ्र्यो । तर एउटा रावल बाहिरिएपछि धेरै रावलहरुको एमालेमा जन्म भईसकेको छ । हिजो रावललाई सिध्याउन ओलीलाई प्रयोग गरेका कर्ण थापा आफै रावलको पथमा छन् ।

अव हेर्न बाँकी छ, ओली सबैमाथि रावललाई झै कारवाही गर्छन ? वा विधान अधिबेशनमा उठेका मुद्दालाई सम्बोधन गर्छन् ।

एमाले भनेकै ओली । ओली भनेकै एमाले । यतिसम्म भन्नेहरु नै यतिबेला एमालेमा ओलीको सबैभन्दा बिरोधी देखिनु ओलीका लागि पक्कै सुखद संकेत होईन् । ८४ नजिकिदै गर्दा एमालेभित्र नेतृत्वको कार्यशैली र व्यवहारलाई लिएर बढ्दो चरम असन्तुष्टिले एमालेले फाईदा भन्दा नोक्सान नै बढि हुने देखिन्छ । विधान अधिबेशनमा उठेका मुद्दा र असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके ८४ भन्दा नै अघि एमाले कमजोर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस