सामाजिक सञ्जालमा नेपाल टेलिभिजनले राख्न छोड्यो पोस्ट, रेडियो नेपाल र गोरखापत्र अझै सक्रिय

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले सामाजिक सञ्जालका प्लेटफर्ममा सामग्री पोस्ट गर्न छोडेको छ । सरकारले सूचीकरण नभएको भन्दै २६ ओटा सामाजिक सञ्जाल तथा स्ट्रिमिङ सेवालाई बिहीबारदेखि निष्क्रिय गराउन थालेपछि नेपाल टेलिभिजनले यस्तो निर्णय लिएको हो ।
नेपाल टेलिभिजन सामाजिक सञ्जालमा निकै सक्रिय थियो । विशेषगरी युट्युब र फेसबुकमा यसको उपस्थिति थियो । युट्युबमा झन्डै आठ लाख सब्सक्राइबर रहेका छन् भने फेसबुकमा तीन लाख ६० हजारभन्दा बढी फलोअर छन् । टेलिभिजन च्यानलको फेसबुक पेजबाट सरकारका गतिविधि, समाचार तथा विभिन्न कार्यक्रमका सामग्री नियमित रूपमा पोस्ट हुने गरेका थिए ।
फेसबुकमा अन्तिम पटक बिहीबार बेलुका ८ बजे एक भिडिओ लाइभ गरिएको थियो । त्यसयता उक्त च्यानलमा कुनै नयाँ सामग्री पोस्ट भएको छैन । यस्तै युट्युब च्यानलमा पनि अन्तिम पटक बिहीबार नै भिडिओ प्रसारण गरेको देखिन्छ ।
सूचीकृत भएर निर्वाध चलिरहेको नेपाल टेलिभिजनको टिकटक अकाउन्टमा भने पछिल्लो समय खासै नयाँ कन्टेन्ट देखिँदैनन् । नेपाल टेलिभिजनले औपचारिक रूपमा कन्टेन्ट राख्न छोडेको सूचना पनि कतै देखिंदैन । अनलाइन (nepaltvonline.com) मा समाचार आउँछन् भने अन्य जानकारी आधिकारिक वेबसाइट (ntv.org.np) बाट आउने गरेका छन् । तर, आधिकारिक सरकारी डोमेन भने डाउन छ ।
यस विपरीत सरकारी स्वामित्वकै अर्को अनलाइन सञ्चार माध्यम ‘गोरखापत्र अनलाइन’का सामग्री भने फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा यथावत् पोस्ट भइरहेका छन् । त्यस्तै रेडियो नेपाल पनि उत्तिकै सक्रिय रहेको छ ।