कैलालीको एक जुत्ताचप्पल गोदाममा भीषण आगलागी, झन्डै ८० लाख बरावरको क्षति

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित एक जुत्ताचप्पल गोदाममा आइतबार बिहान भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स मा राति करिब २ः४० बजे अचानक आगलागी भएको हो। नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा केही घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सकिएको थियो।
आगलागीमा गोदामका सम्पूर्ण जुत्ता र चप्पल नष्ट भइ करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। तर, मानवीय क्षति भने भएको छैन।
उक्त गोदाम लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएकी थिइन्। गोदाममा कोही नबस्ने भएकाले आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।