अफगानिस्तानको भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो

एजेन्सी । आइतबार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ ।
केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । खालिद इब्न वालिद कोप्र्सका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले सैन्य तथा नागरिक निकायका टोलीहरू उद्धार कार्यका लागि परिचालन गरिएको जानकारी दिए ।
उद्धारमा बाँच्न सफल भएका स्थानीयले भयानक अनुभव सुनाए । ‘आज मैले आमासँगै फुपु र उनकी छोरीलाई गुमाएँ । केही हामी घाइते भयौं, र अल्लाहको कृपाले मात्र बाँचेका छौं,’ एक गाउँलेले भने । अर्कोले थपे, ‘यो मेरो जीवनकै सबैभन्दा डर लाग्दो अनुभव हो । म कहिल्यै पनि यति आतंकित भएको थिइनँ ।’
भूकम्पको क्षति कुनारमा मात्र नभई नुरिस्तान, पञ्जशिर, लगमान र नंगरहार प्रान्तका केही भागहरूमा समेत भएको छ । ग्रामीण पुनःस्थापना तथा विकास मन्त्री मुल्ला मोहम्मद युनुस अखुन्दजादाले भने, “हामी अहिले कुनारको अवस्थासँग जुधिरहेका छौं, तर छिमेकी प्रान्तहरूमा पनि मृत्यु र घाइते भएका खबर आएका छन् ।’
उद्धार कार्यमा सडक अवरुद्ध भएको कारण कठिनाइ भोगिएको छ । अफगान रेड क्रस सोसाइटी कुनारका प्रमुख अब्दुल लतिफ साबेतले सडक खुलाउने प्रयास भइरहेको र त्यसले उद्धार कार्यलाई सहज बनाउने बताए ।
तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाहरूको उपस्थिति घटेको भए पनि अधिकारीहरूले केही संगठनले सहयोगको आश्वासन दिएको जनाएका छन् ।
अफगानिस्तानले पछिल्ला वर्षहरूमा लगातार प्राणघातक प्राकृतिका विपत्तिहरू भोगिरहेको छ । सन् २०२३ मा हेरात भूकम्पमा १४ सय भन्दा बढी र सन् २०२२ मा पाक्तिका भूकम्पमा १ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पले करिब ५ हजार ४०० घर ध्वस्त बनाउँदै हजारौंलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिहरूमध्ये एक मानिएको छ ।