नेपालीलाई जुरुक्क उठाउने कर्णालीको गीत

प्रकृति भुवन ।
गीत मनोरञ्जनको साधन मात्र होईन, यो त परिवर्तनको स्रोत पनि हो । जसले मानिसको चेतना, सोच र क्रियामा प्रभाव पार्छ ।
एक समय, गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ गीतले मान्छेलाई निरकुंश शासनका विरुद्ध विद्रोह गर्न उद्देलित गथ्र्यो ।
श्याम तमोटले २०३१ सालमा लेखेको यो गीतमा राल्फा समूहका रायन र रामेशले स्वर दिएपछि बामपन्थीहरुले यसलाई पञ्चायती शासनका विरुद्ध जनतालाई आन्दोलित गर्ने हतियारका रुपमा प्रयोग गरे । हुन् पनि, यो गीत सुन्नेहरु पञ्चायती व्यवस्थाका विरुद्ध जुरुक्क उठ्थे ।
सिस्नुपानी नेपालले काठमाण्डौंमा हालै आयोजना गरेको जुरुक्क कर्णाली कार्यक्रममा त्यस्तै जुरुक्क उचाल्ने गीत वर्षौपछि नेपालीले सुन्न पाए । वर्षा राउत र स्मारिका फुयालको स्वरको जादु यसरी चल्यो कि, माधव चौलागाईले लिपिबद्ध गरेको यो गीत जति सुने पनि धीत नमर्ने भयो । र त, यो गीत २० औं पल्ट सुन्नेहरु पनि छन् ।
एउटा गीतको तागत भनेकै यही हो । रुवाउछ । हसाउछ । उद्देलित पार्छ । यो गीत एउटा भूगोलको वेदना हो । जसमा कर्नालीको गाथा छ । पीडा छ । हो, लंकामा सुन छ कान मेरो बुच्चै भनेजस्तै, सुनखानी सम्हालेर बुच्चै कान लिएर बाँचेको छ कर्णाली । जलस्रोतको अथाह भण्डार कर्णाली नदी यही भूगोलको सिरान हुदै बग्छ, पैतालासम्म । तर यही भूगोलका तमाम वस्तीहरु अझै बाँचेका छन्, टुकी र झरोको भरमा । यो कर्णालीको नियति हो ।
जसले भाषा दियो, पहिचान दियो, संस्कृति र परम्परा दियो । त्यही कर्णाली खोजिरहेको छ, पहिचान । कस्तुरी झै छ, कर्णाली । जहाँबाट फैलियो, मष्टो र माडुको परम्परा । खस सभ्यताको त्यो उद्गम थलो, जसले मान्छेलाई पहिचान दियो । उ भने सधै पहिचानका लागि छटपटाईरह्यो ।
सिस्नुपानी नेपालले काठमाण्डौंमा आयोजना गरेको जुरुक्क कर्णाली कार्यक्रम, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली मात्र उपस्थित थिएनन्, उपस्थित थिए, सत्ता सञ्चालक दल र तिनका शीर्ष नेताहरु । कर्णालीका अगुवाहरु । मोटरबाटो कुरेर जुनी बिताएका कर्णालीवासीका पीडा उनीहरुले कति महशुस गरे, थाह छैन् । कार्यक्रमका सहभागीहरु र गीत सुन्ने हरेकका शरीरमा काँडा उमार्न सफल भए, चौलागाई । जसका हरेक शब्द ओजपूर्ण छन् । हरेक पंक्ति काव्यभन्दा गरुङ्गा छन् । आफै नडुबी, नभोगी गीतकारले यति सशक्त रचना गर्नै सक्दैन् । यो चौलागाईको भोगाई हो । अनुभूति हो ।
यो केवल गीत मात्र होईन । यो कथा हो, कर्णालीको । यो व्यथा हो, कर्णालीमाथि राज्यद्धारा वर्षौदेखि भएको उत्पिडनको । गर्भमा पेट्रोलियम र ग्याँसको अथाह भण्डार बोकेको कर्णाली आगो पैचो मागेर बाँचिरहेको छ ।
छातिभित्र हुरी बोकेर बाँचेको कर्णाली, जसको पीडा राजधानीले अहिलेसम्म सुनेन । कर्णाली गुनासो गर्छ । आस्था र स्मारिकाले एकै सासमा सुनाईन्, ती सबैलाई, जसजसले सुन्न जरुरी थियो, कर्णालीका बेदना, पीडा, आक्रोश र संभावनाहरु ।
चौलागाईंको शब्दमा आस्था र स्मारिकाको स्वर बेजोड छ । गीतमा ओकलेको विद्रोहको भाव उनीहरुको अनुहारमा झल्किन्छ । कही आक्रोश छ, राज्यसंग । कही पीडा छ । कही बखान छ, कर्णालीको । हो, शब्दको गहिराईमा डुबेर गाईरहेकी आस्था र स्मारिकाको अनुहारले बोलिरहेको छ, कर्णालीको भाव । त्यसमाथि धिरेन्द्र प्रेमर्षीको संगीतको तालमा मिथिला शर्माको अभिनय र नृत्यले शरीरमा काँडा उमार्छ । जदौ कर्णाली व्याण्डको प्रस्तुती साच्चिकै अद्धितीय र अदभूत छ ।
गीतमा चौलागाई भन्छन्, म मान्छे हूँ, मान्छे जुर्मुराउछु । हो, जिउँदो मान्छे बोल्छ । उ अन्याय सहदैन् । उसभित्रको चेतनाले विद्रोह गर्छ । उ उठ्छ । उ दुख्दा ऐया भन्छ ।
चौलागाई अगाडि लेख्छन्, आगो झै तातो छ, मेरो आँत । म आगो भर्भराउछु ।
कर्णालीको यो आगो निभ्नु हुदैन्, अव । जवसम्म चिसा शासकको मन बेस्सरी तात्दैन् । यो आगो बलिरहनुपर्छ, यसैगरी ।
प्रस्तुत छ, जुरुक्क कर्नाली गीत
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
अनन्त अन्धकारमा अवोध त्यो प्रवाहमा
अमोक्षमा जुनी(जुनी बिते नि दुष्ट राजमा
तथापि ज्यूँछु जिन्दगी म हौसला हुँ जोस हुँ
शिखर म चुम्छु दुर्गको म पाइला हुँ खोज हुँ
नमेटिने ननासिने अभेद्य हुँ अजेय हुँ
अपाडराज भूमि हुँ सपादलक्ष कर्नाली
अदम्य आँट(ओज ली जुरुक्क उठ्छ कर्नाली
सहस्र अश्वमा चढी म बन्छु विश्वगामिनी
पुगेँ गया पुगेँ गुगे कुमाउँदेखि त्रिशूली
डटेँ खटेँ लडेँ जितेँ सुकीर्ति फर्फराउँथ्यो
अपार आँटिलो थिएँ र बैरी थर्थराउँथ्यो
बतास बाज वेगमा खसानको कुना कुना
हिमालमा पहाडमा र भोटमा जहाँ तहाँ
म दुन्दुभी हुँ गुञ्जिने र मेघ हुँ म बर्सिने
म वीर पैकलो थलो सपादलक्ष कर्नाली
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली
छ काख काँधको भरी अमूर्त मूर्त सम्पदा
म वासना हुँ कस्तुरी सुवास बन्छु सर्वदा
म रीति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ
समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ
म बोल्दछु पडेलीमा, माडु मस्टो मैडोमा
म गीत भाव भावना सङ्गीत साध्य साधना
म सूर न्याउल्या बनी म खेल्दो देउडा दरी
भुओ भैलो धारु घाँटु बिसुँवा चैतेली भरी
म फुक्छु उच्च नाद यो तरङ्ग शङ्खनादको
म सभ्यता हुँ विश्वको सपादलक्ष कर्नाली
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली
(तस्वीर साभार ः मनोज गजुरेलको फेसबुक पेजबाट लिईएको हो ।)