सुडानको डारफरमा पहिरोले सिंगो गाउँ बगायो, एक हजारभन्दा बढीको मृत्यु

द एभरेष्ट पोष्ट
१७ भदौ २०८२ १४:२१
सुडानको डारफरमा पहिरोले सिंगो गाउँ बगायो, एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी : सुडानको पश्चिमी डारफर क्षेत्रमा गएको पहिरोले एउटा गाउँ नै बगाएको छ । उक्त पहिरोमा परेर एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सुडान लिबरेसन मुभमेन्ट–आर्मीले विज्ञप्ति जारी गर्दै यो घटना मध्य डारफरको मार्राह माउन्टेन्समा रहेको तारासिन गाउँमा आइतबार भएको जनाएको छ । अगस्टको अन्तिम सातामा भएको भारी वर्षापछि यो विपत्ति आएको हो ।

अफ्रिकी देशमा आएको हालसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको समाचार संस्था एपीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार गाउँका सम्पूर्ण बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी रहेको अनुमान छ । एक जनामात्र जीवित भेटिएका छन् ।”

सुडान लिबरेसन मुभमेन्ट–आर्मीले गाउँ पूर्णरूपमा ध्वस्त भएको बताउँदै शवहरू निकाल्नका लागि संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय सहायता समूहहरूसँग सहयोगको लागि अपिल गरेको छ ।

मार्राह माउन्टेन्सका समाचारमाध्यमले सार्वजनिक गरेको भिडियो फुटेजमा पहाडी शृंखलाहरूबीचको एक समतल क्षेत्र देखाइएको छ, जहाँ मानिसहरूको एउटा समूहले खोजी गरिरहेको देखिन्छ ।

सन् २०२३ को अप्रिलमा सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीचको तनाव राजधानी खार्तुम र देशका अन्य भागहरूमा खुला युद्धमा परिणत भएपछि विनाशकारी गृहयुद्ध चलिरहेको छ ।

यस द्वन्द्वग्रस्त डारफर क्षेत्रको अधिकांश भागमा सुडानको सेना र आरएसएफबीचको लडाइँ र कडा प्रतिबन्धका कारण संयुक्त राष्ट्र संघ र सहायता समूहहरूका लागि पहुँच पुर्‍याउन असम्भव बनेको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस