गौरामय बन्यो मेरिल्याण्ड, धुमधामसंग मनाईयो गौरा पर्व

द एभरेष्ट पोष्ट
१६ भदौ २०८२ २०:१२
गौरामय बन्यो मेरिल्याण्ड, धुमधामसंग मनाईयो गौरा पर्व

मेरिल्याण्ड, १ सेप्टेम्बर ।

विगतका वर्षमा झै यस वर्ष पनि अमेरिकाको मेरिल्याण्ड राज्यमा  भव्य रुपमा गौरा पर्व मनाईएको छ ।

शनिवार मेरिल्याण्ड स्थित हिन्दुबुद्ध मन्दिरमा एक भव्य कार्यक्रमकाबीच गौरा पर्व मनाईएको हो ।

कार्यक्रममा गौरा पूजा, दुबधागो, गौरा नाच, पन्चे बाजा, फल फट्काउने, गौरा सेलाउने, कार्यक्रम बिधि पूर्वक सम्पन्न गरिए । सोही अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा देउडासंगै सुदूर पश्चिमको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा राजदूतावासका आर्थिक सल्लाहकार पाण्डेयले धर्म, संस्कृति, भाषा र परम्पराहरु पहिचानसंग जोडिएकोले गौरापर्व जस्ता मौलिक पहिचान बोकेका पर्वहरुको संरक्षण आवश्यक भएको बताए ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिष्ट अतिथि तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसनले नेपाली समुदायबाट प्राप्त माया प्रेमको प्रशंसा गर्दै नेपाली समुदायको हितका लागि आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका अतिथि मन्दिर व्यबस्थापन समितिका अध्यक्ष डा. श्याम कार्कीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मन्दिरको आगनमा मनाउन पाएकोमा खुशी व्यक्त गर्दै आगामि दिनमा पनि गौरा पर्व लाई भव्य रुपमा सम्पन्न गर्न सुप समाज संग मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रममा बाल्टिमोर काउन्टीका प्रतिनिधि यान मा, एपीआई मिडल ईस्टर एण्ड डेजी अमेरिकन टियु सेन्टर फर स्टुडेन्ट डाईभर्सिटीका कोअर्डिनेटर एकिता सेड, एसिस्टेन्ट अफ ईस्टुडेन्ट गर्भमेन्ट एसोसिएसनका ब्राएन्ट रेईज, बानाका अध्यक्ष जितेन्द्र गुरुङ, मन्दिर व्यबस्थापन समितिका उपाध्यक्ष क्रिस घिमिरे, समाजका पुर्व अध्यक्ष दमनबिक्रम शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गौरा व्यवस्थापन समितिका संयोजक तीर्थराज पाण्डेयले गौरा पर्वको माहत्म्यमाथि चर्चा गरेको कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष बिक्रम शाही र समाजका सल्लाहकार भीम विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिश साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका महासचिव यज्ञ रानाले गरेका थिए ।  कार्यक्रममा मेरिल्याण्ड, भर्जिनिया, डिसि लगायतका राज्यबाट नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बिशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिमका साथै भारतको उत्तराखण्डमा भाद्र महिनामा मनाईने यो गौरा पर्व केही वर्षदेखि प्रवास पनि मनाउन थालिएको छ ।

तीजका दिनबाट शुरु हुने गौरा मुलतः पञ्चमीका दिनबाट चार दिन मनाईन्छ । महेश्वर र गौराबीच बिवाह भएको प्रसंग यस पर्वमा जोडिएको पाईन्छ । गौरापूजन विवाहित महिलाले मात्र पूजा गर्ने भएपनि पुरुष र अविवाहित महिला पनि पर्वमा सामेल हुने गर्दछन ।

भाद्र शुक्ल पक्षमा उज्याली र कृष्ण पक्षमा अन्यारी गौरा मनाईन्छ । गौरामा निराहर व्रत वसी महिलाहरुले गौरा माताको पुजाअर्चना संगै दुबधागो परिवर्तन गर्ने गर्दछन । पुरुषहरुले जनैपुर्णिमा जनै बदले जस्तै महिलाहरुले दुबधागो बदल्ने गर्दछन । गौरा माताको व्रत बस्नाले घरपरिवारमा सुख, शान्ति तथा सम्बृद्धि बढ्ने जनविश्वास छ ।

नेपाली समुदायलाई सांस्कृतिक तथा सामाजिक रुपमा एकिकृत गर्न मेरिल्याण्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले चार वर्ष देखि लगातार गौरा पर्वको आयोजना गर्दै आईरहेको छ ।

Processing…x

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस