बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ राजमार्ग आंशिक रुपमा सञ्चालनमा

काठमाडौं : अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् भने १५८ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छन्। सडक विभागका अनुसार कतै बाढीले सडक कटान गरेको छ भने कतै भीषण पहिरो खसेपछि आवागमन नै ठप्प भएको छ।
कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आइतबार सडक अवरुद्ध अवस्थाबारे बैठक बोलाएर तत्काल सडक खुलाउने निर्देशन दिएका छन्। नागरिकलाई आवतजावतमा सहजता दिलाउन सबै निकायलाई सक्रिय हुन आग्रह गर्दै उनले ढिलाइ नगरी काम अगाडि बढाउन आदेश दिएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार धेरै खण्डमा पहिरो पन्छ्याउने र बाटो मर्मतको काम भइरहेको छ तर लगातारको वर्षा र नदीमा बढ्दो बहाबले कार्य अवरुद्ध भएको छ। कतिपय ठाउँमा एक्साभेटर र लोडर परिचालन गरी बाटो खोल्ने प्रयास भइरहेको छ भने कतै अझै पानी घटेपछि मात्र सफाइ सुरु गर्न सकिने अवस्था छ।
पूर्ण अवरुद्ध भएका राजमार्गमध्ये ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्यफ्रुबेंसी-रसुवागढी सडकखण्ड चीनतर्फबाट आएको बाढीले सडक कटान गरेपछि बन्द भएको छ। जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा जाने कर्णाली राजमार्ग पैमा खोलाको बहाब बढ्दा रोकिएको छ। त्यसैगरी कोशी राजमार्ग पनि अवरुद्ध छ, बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण अधूरो भएकाले आवतजावत ठप्प भएको विभागले जनाएको छ। तमोर करिडोरमा पाँच वर्षअघि बनेको रानी पुल साउनको बाढीले बगाएपछि सम्पूर्ण आवागमन रोकिएको छ।
छिन्चु-कुदु हुँदै जाजरकोट-दुनै-धो-तिन्जे-मरिम जाने भेरी करिडोर पहिरो र बाढीले ढाकेको छ भने कोइलाबास-लमही-अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाउँ-थवाङ-लुकुम जोड्ने सहिद मार्ग पनि लगातारको वर्षा र पहिरोले पूर्ण रूपमा बन्द भएको छ। यस्तै सुर्खेत–डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु हुँदै नाग्मा–जुम्ला जोड्ने सडकमा ठूलो पहिरोसहित ठूला ढुङ्गा खसेपछि आवतजावत बन्द भएको छ। विभागका अनुसार लगातार सुख्खा पहिरो खसिरहेकोले राति सडक बन्द गर्नुपरेको र दिउँसो मात्र सवारी संचालन गरिने प्रयास भइरहेको छ।
सडक विभागले पानी पर्न रोकिएपछि र नदीको बहाब घटेपछि अवरुद्ध खण्डहरू खोल्ने प्रयासलाई तीव्रता दिने जनाएको छ। हाल अस्थायी रूपमा सफाइ, डाइभर्सन र बेलीब्रिज निर्माण गर्ने काम अघि बढाइएको छ।