धनगढीमा आजदेखि सुदूरपश्चिम गौरा महोत्सव, प्रदेश प्रमुख मियाँले उद्घाटन गर्ने

कैलाली । कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम गौरा महोत्सव’ सुरु हुँदैछ । गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवको १०औं संस्करण आजदेखि प्रारम्भ हुँदैछ ।
डेउडा प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले विशेष समारोहका बीच गर्ने अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले जानकारी दिए ।
उनका अनुसार महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । काली–कर्णाली क्षेत्रको सांस्कृतिक पहिचानका रूपमा रहेको डेउडाको संरक्षण र प्रचार–प्रसारसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सव अवधिभर खुला डेउडा दोहोरी प्रतियोगिता र विद्यालयस्तरीय डेउडा प्रस्तुति हुनेछन् । धनगढीस्थित नेपाल पत्रकार महासंघको कार्यालय अगाडिको चौरमा हुने महोत्सवमा प्रवेश शुल्क निःशुल्क रहेको आयोजक समितिले जनाएको छ ।