आशिका तामाङलाई पाँच दिनको जेल सजाय

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिनको कैद सजाय तथा पाँच सय रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको छ । तामाङसंगै प्रतिवादी बनाइएका शरण तिरुवालाई पनि जिल्ला अदालत भक्तपुरले सोही सजाय सुनाएको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलाशले विहिवार साँझ उक्त सजाय सुनाएको हो । अदालत स्रोतले दिएको जानकारी अनुसार साँगास्थित सूर्य विनायक नगरपालिका–९ र १० जोड्ने झोलुङ्गे पुल तर्दा लाग्ने २० रुपैयाँ शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएको घटनामा उनीविरुद्ध मुद्धा परेको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीमार्फत ‘आपराधिक उपद्रव’ गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।
आशिकाले पुल शुल्कप्रति आपत्ति जनाउँदै २०८१ असोज ४ गते सामाजिक सञ्जालमार्फत विरोध गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनले उक्त शुल्क असुलीप्रति आक्रोश व्यक्त गर्दै रसिद बुक समेत जलाएको आरोप लाग्यो । यिनै घटनाक्रमको आधारमा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको थियो । घटनापछि पक्राउ परेकी आशिकालाई जिल्ला अदालत भक्तपुरले २०८१ माघ १८ गते प्रारम्भिक सुनुवाइपछि २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
त्यसयता चलिरहेको मुद्दामा बिहीवा जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले अन्तिम फैसला सुनाउँदै उनलाई उक्त सजाय सुनाएको हो । यसअघि उनी काठमाडौं प्रहरी परिसरमा पनि अभद्र व्यवहारसम्बन्धी अभियोगमा थुनिएकी थिइन् । त्यहाँबाट १० हजार धरौटीमा छुटेपछि भक्तपुरमा मुद्दा अघि बढाइएको थियो ।