युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने

द एभरेष्ट पोष्ट
१२ भदौ २०८२ १३:४४
युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने

काठमाडौ‌ं ।  युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताए ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० बर्ष हुने बताए । “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,” उनले भने ।

प्रत्येक पाँचरपाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस