नोटबन्दी अघिका भारतीय नोट प्रयोग नगर्न राष्ट्र बैंकले गरायो सचेत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको छ।
मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको हो । सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो ।
कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था समेत बैंकले सम्झाएको छ ।