१ हजार दरका ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले तोकेका पूर्वयोग्यता पुरा गरी छनोट भएको ६ वटा कम्पनीले उक्त प्रतिस्पर्धामा भाग लिन पाउने आह्वान गरेको बोलपत्रमा उल्लेख छ ।
१ हजार रुपैयाँ दरको नोट डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको हो । २०८१ फागुनमा प्रकाशित भएको पूर्वयोग्यता पुरा गरेका ६ कम्पनीले मात्रै प्रतिस्पर्धामा सहभागी हुन पाउने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।
बोलपत्रप प्रक्रियामा सहभागी हुनेले एकपटक आर्थिक प्रस्ताव र प्राविधिक प्रस्तावको शिलबन्दी बोलपत्र पेश गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
बोलपत्र पेश गर्ने कम्पनीले बोलपत्र कागजात खरिद गर्न नेपाली रुपैयाँ २० हजार वा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टर्लिङ भुक्ताती गर्नुपर्ने हुन्छ । १० अक्टोबर २०२५ भित्र बोलपत्र पेश गरि सक्नुपर्ने सूचनामा उल्लेख छ । पेश गरिएका बोलपत्र २०२५ अक्टोबर १० तारिखमा नै खोलिने सूचनामा उल्लेख छ । बोलपत्र १२० दिनसम्म मान्य हुने र धरौटीका लागि ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
नेपाली नोट छाप्न पूर्व योग्यता पुरा गर्ने कम्पनीहरू चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् । यीमध्ये एउटा कम्पनीले राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा सहभागी हुन पाउँछन् ।