रुबी हत्या : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए । पुल पारी पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो । सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।
रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इंकार गरे । त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयानका क्रममा भनेका छन् । सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् ।
प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।