खेल कूटनीतिमा पहल गर्दै नेपाल : जापानी टोलीसँग खेलकुदमन्त्रीको भेटघाट

काठमाडौं । नेपालमा खेल कूटनीतिलाई नयाँ उचाईमा पुर्याउने पहल स्वरुप विभिन्न विदेशी खेल पदाधिकारीसँग युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले भेट गरेका छन् ।
केही दिनअघि मात्र अमेरिकी पारा खेलाडीहरूको टोलीसँग भेटघाट सम्पन्न गरेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार जापान पारा फेडरेसनका पौडी प्रशिक्षक मसातो साकाई र यामानो काजुमोरीसँग मन्त्रालयमा भेट गरेका छन् ।
नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठसहितको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले अन्तर्राष्ट्रिय प्रशिक्षकलाई स्वागत गर्दै नेपाल पारा खेलाडीहरूको साहस र प्रतिबद्धतालाई राष्ट्रिय गौरवको रूपमा व्याख्या गरे। उनले नेपालका एक मात्र ओलम्पिक र पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धनको योगदान स्मरण गर्दै भने, ‘पलेशाले दिएको पदक हाम्रो गौरव हो। उहाँको उपलब्धिले देखाउँछ, दृढता र परिश्रम भए नेपाल पारा खेलाडीले विश्वमञ्चमा पुनः झण्डा फहराउन सक्छन्। पारा खेलाडीहरू नेपालको अभिमान हुन्।’
कार्यक्रममा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (नाडा) नेपालका संस्थापक प्रमुख तथा एसियाली पारा ओलम्पिक कमिटीको मेडिकल तथा खेल विज्ञान समितिका सदस्य डा. अशिम भण्डारीले खेलाडीहरूको स्वास्थ्य, वैज्ञानिक तालिम र एन्टी–डोपिङ पालना अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘नेपाल अब केवल सहभागी मात्र होइन, पदक जित्ने राष्ट्रका रूपमा अघि बढ्दैछ। अन्तर्राष्ट्रिय सहकार्यले नेपाली पारा खेलाडीहरूको क्षमतालाई उजागर गर्नेछ।’
भेटघाटले नेपाल–जापान सहकार्यलाई अझ मजबुत बनाउँदै २०२६ पारा खेललाई लक्षित गर्ने साझा प्रतिबद्धता जाहेर गरेको छ।