शाकिब अल हसनले बनाए टी-२० क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान

द एभरेष्ट पोष्ट
९ भदौ २०८२ १३:५२
शाकिब अल हसनले बनाए टी-२० क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान

काठ्माण्डौँ । बंगलादेशका अलराउन्डर शाकिब अल हसनले टी-२० क्रिकेटका ऐतिहासिक उपलब्धि हासिल गरेक छन्।

उनले टी-२० क्रिकेटमा ५०० विकेटको कोशेढुगा पार गरेका हुन्। उनी टी-२० क्रिकेटका ५०० विकेट र ७ हजार रन पूरा गर्ने एक मात्र खेलाडी भएका छन्।

सिपिएल २०२५ मा आफ्नो टिम एन्टिगुवा एन्ड बारबुडा फल्कन्सबाट सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध खेल्दा शाकिब यो कीर्तिमानबाट मात्र एक विकेट टाढा थिए।

खेलको १५ औं ओभरमा बलिङ गर्न आएका उनले तेस्रो बलमै यो उपलब्धि लगभग हासिल गरेका थिए। जेडन सिल्सले बाउन्ड्रीमा उत्कृष्ट क्याच लिएका थिए, तर रिप्लेमा उनको खुट्टाले बाउन्ड्रीको डोरी छोएको देखिएपछि त्यसलाई छक्का दिइयो।

तर शाकिबले सोही ओभरमा अर्को मौका पाए।  उनले मोहम्मद रिजवानलाई आफ्नै बलिङमा क्याच आउट गर्दै टी-२० इतिहासमा ५०० विकेट लिने पाँचौं बलर बने। त्यसपछि आफ्नो अर्को ओभरमा थप दुई विकेट लिँदै उनले खेल ५०२ विकेटसहित पूरा गरे।

यो उपलब्धिसँगै शाकिब टी-२० क्रिकेटमा ५०० वा सोभन्दा बढी विकेट लिने बलरहरूको विशेष क्लबमा सामेल भएका छन्। यो सूचीमा राशिद खान (६६०), ड्वेन ब्राभो (६३१), सुनिल नारायण (५९०) र इमरान ताहिर (५५४) जस्ता खेलाडीहरू छन्।

तर शाकिबलाई अरूभन्दा फरक बनाउने कुरा उनको उत्कृष्ट अलराउन्ड क्षमता हो। उनी टी-२० इतिहासमा ७००० रन र ५०० विकेटको ‘डबल’ पूरा गर्ने एकमात्र खेलाडी बनेका छन्। यो अविश्वसनीय कीर्तिमानको सबैभन्दा नजिक ड्वेन ब्राभो पुगेका थिए, जसले आफ्नो करियर ६९७० रन र ६३१ विकेटमा टुङ्ग्याए। त्यस्तै, ९३६१ रन बनाएका आन्द्रे रसेल पनि ५०० विकेटको कोशेढुङ्गा नजिक छन्, जसले अहिलेसम्म ४८७ विकेट लिएका छन्।

शाकिबले टी-२० मा ९ पटक ‘प्लेयर अफ द सिरिज’ को अवार्ड जितेका छन्, जुन विश्व क्रिकेटमा सबैभन्दा धेरै हो। उनले विराट कोहली (८) र वानिन्दु हसरंगा (७) लाई पछि पारेका छन्।

स्पिनरहरूमध्ये टी-२० मा सबैभन्दा धेरै पटक (पाँच पटक) पाँच विकेट लिने कीर्तिमान पनि शाकिबकै नाममा छ। समग्रमा भने उनी डेभिड भिजे (७ पटक) पछि दोस्रो स्थानमा छन्।

२०१३ को सिपिएलमा उनले मात्र ६ रन दिएर ६ विकेट लिएका थिए। उनी अजन्था मेन्डिसपछि  टी-२० मा दुई पटक ६ विकेट लिने दोस्रो बलर पनि हुन्।

विकेट लिनुबाहेक शाकिब किफायती बलिङका लागि पनि चिनिन्छन्। उनले बलिङ गरेका ४३४ टी-२० पारीमध्ये १८१ पटक प्रति बल एक रन वा सोभन्दा कम दिएका छन्। यो मामिलामा उनी विश्वका उत्कृष्ट बलरहरूमध्ये चौथो स्थानमा पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस